आधाभारमा नमूना परीक्षण गरिएको सडक तयार
हेटौंडा- हेटौंडा–पथलैया सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्चभारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले परीक्षणको रुपमा उच्चभारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र गरेको हो । सडक निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । डिभिजन सडक कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले हेटौंडा–पथलैया खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारबहन गरेका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किलोमिटर लम्बाइको परीक्षणका लागि नमूना सडक तयार पारेको बताए । ‘पथलैयाबाट हेटौंडा आउने सडकको लेन उच्चभारवाहन क्षमताका मालवाहक सवारीसाधनले सडक धसिने समस्या देखिँदै आइरहेको छ ।’
‘पहिलो चरणमा आधाभार क्षेत्रमा दुई किलोमिटर सडक स्तरोन्नति गरेका छौँ’, उनले भने, ‘यो सडक पहिलो चरणमा ‘डिबिएम’ र दोस्रो चरणमा अस्फाल्ट कालोपत्रे गरेकाले पनि सडक धसिने समस्या आगामी दिनमा आउने छैन भन्ने हो ।’ गत माघ २२ गते सडक डिभिजन हेटौंडा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । यो आयोजनाको लागत चार करोड १२ लाख १७ हजार रुपैयाँ रहेको छ ।ठेक्का सम्झौताअनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्ती र मौसमका कारणले तोकिएको समयभन्दा केही ढिला गरेर सम्पन्न भएको हो । सूचना अधिकारी पाण्डेले यो प्रविधिबाट सडक कालोपत्रे गर्दा लामो समयसम्म टिकाउ हुने दाबी गरे । ‘हामीले परीक्षणका क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्रे गरेका छौं । यो सडक प्रभावकारी भएको खण्डमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ’, उनले भने ।