सेल्टरदाताको नाममा दुई नेतृ सम्मानीत

साझाकुरा
२०८१ असार ३१, आईतवार १२:०१

हेटौंडा- नेकपा एमाले पार्टी सेल्टरदाता बालकुमारी थापाको स्मृतिमा आयोजना गरिएको सम्मान कार्यक्रममा दुईजनालाई सम्मान गरिएको छ । पार्टी सेल्टरदाताको निधन भएको ४ वर्षपछि उनको बासस्थाननजिकै मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा थापा जस्तै दुई नेतृ उनकै नामबाट सम्मानीत भए ।कार्यक्रममा गण्डकी प्रदेशको पूर्वप्रमुख सीता पौडेल, बागमती प्रदेशको पूर्वमुख्यमन्त्री डोरमणि पौडेलेलगायत पाटीका विभिन्न तहका नेता तथा कार्यकर्ता उपस्थित थिए । गण्डकी प्रदेशको पूर्वप्रमुख तथा नेकपा एमाले स्थायी कमिटी सदस्य पौडेललगायतले उनीहरुलाई सम्मान गरेका हुन् । कार्यक्रममा सहभागी सबै नेता तथा कार्यकर्ताले पार्टी आमाको नामले चिनिने स्व. बालकुमारी थापाले पार्टीमा गरेको योगदानको कदर गर्दै स्मरण गरे । आफूहरुले थापाको जीवनीबाट पाठ सिकेको भन्दै योगदानलाई पछ्याउनु पर्ने बताए । एमाले मकवानपुरको लागि अगुवाइ गर्ने हस्तिको रुपमा परिचित बालकुमारी थापाका सहयोद्धाहरु तारा लामा र सीता लामिछानेलाई नगद सहित सम्मान गरिएको हो ।

उनीहरुलाई बालकुमारी थापा स्मृति केन्द्रको आयोजना तथा अखिल नेपाल महिला संघ मकवानपुरको समन्वयमा केन्द्रकी अध्यक्ष जुनेली श्रेष्ठले केन्द्रमार्फत मकवानपुरको राजनीति तथा समाजसेवामा योगदान गर्ने महिलालाई सम्मान गरिने बताइन् । ‘हामी कुन पार्टी वा दलको मान्छे भनेर हेर्ने छैनौ, पहिलोपटक भएकाले हामीले आफ्नै पार्टीका योद्धालाई सम्झियौं तर, आगामी वर्षबाट हामी पार्टीभन्दा माथि उठेर महिलाको योगदानलाई सम्मान गर्नेछौं’ श्रेष्ठले भनिन् । महिलाको योगदानलाई खोजीगर्ने, अभिलेखिकरण गर्ने र सम्मान तथा हौसला प्रदान गर्ने उद्देश्यका साथ बालकुकारी थापा स्मृति केन्द्र स्थापना गरिएको सचिव सुमित्रा काफ्लेले बताइन् ।

को हुन् तारा लामा ?

वि.स २०१९ साल असार १५ मा मकवानपुरको फाखेल ४ कफ्लेनी (हाल इन्द्रसरोवर) मा आमा मानकुमारी लामा र बुबा मानबहादुर लामाको सन्तानको रुपमा जन्मेकी तारा लामा वि.स २०३२ सालमा पार्टी सम्पर्कमा आएकी थिइन् । मकवानपुरले कम्युनिष्ट आन्दोलनमा आफ्नो उर्जाशील समय खर्चेकी लामाले गाउँदेखि सहरस्तरमा पार्टी कमिटी विस्तार र मजबुतीको लागि योगदान गरिन् । वि.स २०६४ सालमा पार्टी सदस्य लिएकी लामा २०३८ मै अनेमसंघ मकवानपुरको जिल्ला सचिव भएकी थिइन् । पार्टी काममा लागिपर्दा जेलजीवन समेत भोग्नु परेपनि उनीले सधैं आफ्नो मातहतका महिलालाई जोश प्रदान गर्ने गरेकी छिन् । ‘हाम्रो पालाको राजनीति ज्यानै माया मारेर गर्नु पथ्र्यो, अहिले जस्तो थिएन’ सम्मान ग्रहणपछि उनले भनिन् ‘आफ्नो ज्यान र परिवारभन्दा पार्टीको माया लाग्थ्यो ।’
को हुन् सीता लामिछाने ?

वि.स २००५ जेष्ठ १५ गते धादिङको सातघुम्तीमा आमा विष्णुमाया पण्डित, बुवा ठूले पण्डितको सन्तान सीताको १० वर्षकै उमेरमा विवाह भएको थियो । मकवानपुरको चित्लाङ निवासी केशव लामिछानेसँग विवाहपछि मकवानपुर आएकी सीता २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागिन् ।वि.स २०३८ सालमा अध्ययन समूहमा आवद्ध भएकी उनी पार्टी टोल कमिटीमा २०४० सालमा नगरसम्मेलन तयारी समितिमा २०४१ मा वडाकमिटीमा आवद्ध २०५३ सालमा सक्रिय भइन् । सानैदेखि बिद्रोही स्वभावको सीता आफूमाथि हिंसा हुँदासम्म आफूलाई सम्हालेर पार्टीको निर्देशनमा अडिग नेतृ मानिन्छिन् । पार्टी लडाकुहरुलाई भूमीगत काममा सहयोग गरेको, सुरक्षा दिएको साथै बस्ती, टोलस्तरदेखि जिल्लातहसम्म संगठन विस्तार र सुदृढीकरणमा योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको केन्द्रकी सचिव काफ्लेले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*