हेटौंडा उपमहानगर पूर्णखोप सुनिश्चिता भएको घोषणा

साझाकुरा
२०८१ असार ३२, सोमबार ११:३५

हेटौंडा- हेटौडा उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ । हेटौडा उमहानगरपालिकामा आइतवार आयोजित कार्यक्रममा उपमहानगरलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।उपमहानगरभित्र रहेका ५ वर्षमुनिका ७ हजार १ सय ८५ जना बालबालिकालाई पूर्णखोप लगाइएको उपमहानगर स्वास्थ्य शाखाप्रमुख सूर्यप्रसाद तिवारीले बताए । उपमहानगरभित्र रहेका ५ वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप दिएसँगै उपमहानगरलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति मकवानपुरका सचिव कृष्णबहादुर मिजारले उपमहानगरप्रमुख मीनाकुमारी लामालाई हस्तान्तरण गरेका थिए ।

उपमहानगरको स्वास्थ्य शाखाका अनुसार नगरक्षेत्रमा खोप लगाउन तयार भएका १५ महिना मुनिका ३ हजार ९४१ जना बालबालिकाको तथ्याङ्क तयार गरेर राखिएको जनाएको छ । उनीहरुलाई समय पुगेसँगै खोप अभियानमा समावेश गरीने शाखाले जनाएको छ । गत चैतदेखि उपमहानगरलाई पूर्णखोप घोषणा गर्ने अभियान संचालन गरिएको थियो । स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र जनप्रतिनिधि घर÷घरमा पुगेर बालबालिकालाई खोप लगाउने कार्य गरेको उपमहानगरका स्वास्थ्य शाखाप्रमुख तिवारीले जानकारी दिए ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको सभाध्यक्ष नगरप्रमुख लामाले पूर्णखोपलाई दिगोपन दिनका लागि स्वास्थ्यकर्मी, महिला स्वयसेविका र जनप्रतिनिधि सधै सक्रिय रहनु पर्ने बताइन् । उपमहानगरलाई बालमैत्री पालिका घोषणा गर्नका लागि पूर्णखोप महत्वपूर्ण सूचक रहेको उनले बताइन् । कार्यक्रममा उपमेयर राजेश बानियाँ, स्वास्थ्य निर्देशनालयका महाशाखाप्रमुख सागर घिमिरेले खोपका बारेमा बोलेका थिए । कार्यक्रममा १९ वटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई खादा ओढाएर सम्मानसहित कदरपत्र प्रदान गरिएको थियो । १९ वटा वडामा विभाजित नगरमा २२ वटा स्वास्थ्यसंस्था छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*