‘प्रचण्ड शैली’ अपनाउँदै मुख्यमन्त्री जम्कट्टेल, राजीनामा की विश्वासको मत ?

साझाकुरा
२०८१ श्रावण १, मंगलवार ०८:३९

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ६ साउनमा ‘प्रदेशसभा फेस’ गर्ने भएका छन् ।कांग्रेस र एमालेलाई नचाउँदै तीनपटक विश्वासको मत लिएर १८ महिना सरकारमा रहँदै बर्हिगमनतर्फ उन्मुख जम्कट्टेलले ६ साउनमा प्रदेशसभाबाट आगामी सरकारका लागि मार्गप्रशस्त गर्ने तयारी गरेका हुन् । जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बागमती प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि पत्राचार गरेका छन् । प्रदेशसभा सचिवालयका प्रवक्तासमेत रहेका कानुनअधिकृत मनोजकुमार गुप्ताका अनुसार विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेको छ ।

तर, जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिन्छन् की राजीनामा दिएर मुख्यमन्त्रीको कुर्सी छोड्छन भन्ने हालसम्म निश्चित छैन । ‘मुख्यमन्त्रीज्यूले प्रदेशसभा ‘फेस’ गर्नुहुने भएको छ । तर, विश्वासको मत लिन पनि सक्नुहुन्छ, प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा पनि दिनसक्नु हुन्छ । के गर्ने भनेर निक्र्यौल भइसकेको छैन् ।,’ उनकै सचिवालय स्रोतले भन्यो ।नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका जम्कट्टेलसँग विश्वासको मत लिने र राजीनामा दिएर बर्हिगमनको बाटो रोज्नुपर्ने दुई विकल्प मात्रै छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्तासमिकरणले जम्कट्टेलको बर्हिगमन निश्चित छ । उनलाई एमाले र नेपाली कांग्रेसले तत्काल मार्ग प्रशस्त गर्न विज्ञप्तिमार्फत आग्रह गरिसकेका छन् ।

केन्द्रीय सत्तासमिकरण अनुसार विश्वासको मत उनको ‘मनशान्ति’ का लागि मात्रै सीमित हुनेछ । उनीसँग विश्वासको मत पाएर सरकार टिकाउने बहुमत सांसद छैनन् । प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक छ । उनको पक्षमा आफ्नै पार्टी माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई गरी ३० सांसद मात्रै छन् ।आफ्नो पक्षमा बहुमत सांसद नहुँदानहुँदै राजीनामा नदिएर जम्कट्टेल विश्वासको मत लिन अगाडि बढेका छन् । यसलाई उनले ‘प्रचण्ड शैली’ अपनाउन खोजिएको एमालेका एक सांसद बताउँछन् । ‘उहाँले नैतिकरुपमा राजीनामा दिनुपर्छ । आफूसँग सरकार टिकाउने सामथ्र्य नरहेको स्पष्ट भइसकेको अवस्थामा पनि प्रदेशसभाबाट विश्वासको मत लिन्छु भन्नु प्रचण्ड शैलीकै कपि पेष्ट हो ।,’ ती सांसदले भने ।

केन्द्रमा पार्टी अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा १ घण्टा २२ मिनेट बोलेर विश्वासको मत लिएका थिए । त्यसैगरी प्रदेशसभामा आफ्ना धारणा राखेर विश्वासको मत लिनका लागि जम्कट्टेल अगाडि बढेका हुन् । तर, जम्कट्टेलले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने विषयमा सोमबार बिहान सत्तासाझेदार दल एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग छलफल गरेका छन् ।उनले हेटौंडा–२, स्थित मुख्यमन्त्री निवासमा एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यसँग विश्वासको मत लिने की राजीनामा दिने भन्ने विषयमा छलफल गरेका थिए । सत्तासाझेदार दलहरुको सुझावमा जम्कट्टेलले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा पनि दिनसक्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

मुख्यमन्त्री जम्कट्टेललाई आफू र नेता खनालले राजीनामा दिन सुझाव दिएको मन्त्री बज्राचार्यले जानकारी दिए । ‘छलफलमा उहाँले विश्वासको मित लिने की राजीनामा दिने भन्ने बारे सुझाव माग्नुभएको थियो । हामी दुईजनाले नै राजीनामा दिन उपयुक्त हुने सुझाव दियौं ।,’ मन्त्री बज्राचार्यले भने, ‘उहाँले पनि प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने कुरा हामीसँग गर्नु भएको छ ।,’ एकीकृत समाजवादीका नेता खनालले साउन पहिलो हप्ताभित्र प्रदेशसभा बैठक बोलाएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्री तयार रहेको बताए ।

२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । यो सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए ।२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्तासमीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो । जम्कट्टेलको कार्यकाल सरकार बनाउने र भत्काउनेमै ब्यतित भएको छ । बागमतीमा अब चौथोपटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ । मुख्यमन्त्रीका लागि कांग्रेसबाट बहादुरसिं लामा र एमालेबाट जगन्नाथ थपलिया दाबेदार छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*