बागमतीमा इन्धन खर्च २४ करोडभन्दा बढी

साझाकुरा
२०८१ श्रावण १, मंगलवार ०८:४१

हेटौंडा- बागमती प्रदेश सरकारले चालुखर्च नियन्त्रण गर्न सकेको छैन । इन्धन खर्च नै बागमतीमा २४ करोड भन्दा बढी रहेको प्रदेश लेखानियन्त्रक कार्यालयले जनाएको छ ।प्रदेश सरकारको कुल बजेटमध्ये इन्धन शीर्षकमा २४ करोड भन्दा बढी रकम खर्च भएको छ । मन्त्रालय र मातहतका निकायले कुल विनियोजनको २४ करोड ८१ लाख २७ हजार रुपैयाँ खर्च गरेको हो । विभिन्न सुविधाअन्तर्गत प्रदेश सरकारले विनियोजन गरेको २८ करोड ९९ लाख १९ हजार रुपैयाँमध्ये २४ करोड ८१ लाख २७ हजार रुपैयाँ खपत गरेको हो ।

प्रदेश सरकारले पदाधिकारी सुविधाअन्तर्गत प्राप्त हुने इन्धन खर्चतर्फ विनियोजित २ करोड ६ लाख ५६ हजार रुपैयाँमध्ये १ करोड ३२ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ । कार्यालय प्रयोजनका लागि प्रयोग हुने इन्धन खर्चतर्फ विनियोजित १२ करोड ९१ लाख ५९ हजार रुपैयाँमध्ये ११ करोड २६ लाख २ हजार रुपैयाँ खर्च भएको छ भने अन्य प्रयोजनका लागि प्रयोग हुने इन्धन खर्चतर्फ विनियोजन गरिएको १ करोड ७४ लाख २ हजार रुपैयाँमध्ये १ करोड १२ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।

सवारीसाधन मर्मततर्फ ११ करोड ९ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । सो शीर्षकमा प्रदेश सरकारले १२ करोड २७ लाख १ हजार रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४६ लाख ९८ हजार रुपैयाँ खर्च गरेर सवारीसाधन खरिद गरेको छ । यो शीर्षकतर्फ ५३ लाख ९४ हजार रुपैयाँ विनियोजन गरेको थियो ।बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा जम्मा ४५ अर्ब ६६ करोड ७९ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेशका १३ मन्त्रालय, संवैधानिक निकाय र मातहतका कार्यालयबाट चालु तथा पुँजीगततर्फका विभिन्न शीर्षक अन्तर्गत कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँमध्ये १७ अर्ब ४ करोड १० लाख ७८ हजार रुपैयाँ फ्रिज भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारको कुल बिनियोजित बजेटको २३ प्रतिशत रकम फ्रिज भएको प्रदेश लेखानियन्त्रक कार्यालय हेटौंडाले जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*