पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड बढी

साझाकुरा
२०८१ श्रावण २, बुधबार ०९:५१

हेटौंडा-थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पाँच करोड भन्दा बढी मुनाफा आर्जन गरेको छ । आर्थिक बर्ष २०८०÷८१ को असार मसान्तसम्म कर अगाडि संस्थाले ५ करोड २९ लाख मुनाफा गर्न सफल रहेको संस्थाका सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए ।संस्थामा १० हजार ७ सय सेयर सदस्य पुगेको र ऋणी सदस्य ३ हजार ३५६ रहेको बताउदै आर्थिक वर्ष २०८०÷८१ को खाताबन्दीसम्ममा बचत ७४ करोड ५० लाख र ऋण लगानी ९७ करोड ३० लाख र तरलता २२ प्रतिशत रहेको जानकारी दिएका छन् । गत आर्थिक वर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रुपैयाँ रहेको थियो।

थाहा नगरपालिका–४ थानाबजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा सेवाकेन्द्र खोली सेवा दिदै आइरहेको छ । हाल संस्थाले ऋण तथा बचत, लघुबित्त सेवा, रासायनिक मल बिक्रीवितरणलगायत कृषिक्षेत्रमा हाइटेक नर्सरी, कोल्ड चेम्बर, कृषि तथा पशुप्राविधिक सेवा र यो वर्षदेखि तरकारी बजारीकरण सेवा प्रदान गर्दै आइरहेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिएका छन् ।हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसात गरिरहेको संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्टले बताएका छन् ।

विष्टका अनुसार संस्थाले ईन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, कनेक्ट आइपियस सेवा, रेमिटेन्स सेवा सहित मानवसंसाधन विकासअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए ।स्थापनाकालदेखि नै शेयर सदस्यलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आएको यो संस्थाले यसवर्ष पनि सहकारी संस्थाले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश दिन सक्षम भएको बताइएको छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*