बजेट खर्चमा मकवानपुरका तीन पालिका अब्बल

साझाकुरा
२०८१ श्रावण ३, बिहीबार १२:३८

हेटौंडा- मकवानपुरको १० वटा स्थानीय तहमध्ये विकट कैलाश, राक्सिराङ र मनहरी गाउँपालिका बजेट खर्चमा अब्बल देखिएका छन् ।आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यान्वयनमा प्रतिशतको हिसाबमा तीन पालिकाले ८४ प्रतिशतमाथि खर्च गरेका हुन् । मनहरी गाउँपालिकाले भर्खरै सकिएको आर्थिक वर्षमा कुल विनियोजनको ८७ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ भने राक्सिराङ गाउँपालिकाले पनि कुल विनियोजनको ८६ दशमलव २८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ ।

कैलाश गाउँपालिकाले पनि कुल विनियोजनको ८४ दशमलव ०४ प्रतिशत खर्च गरेको छ । मनहरी गाउँपालिकाको कुल ९० करोड ५९ लाख २१ हजार रुपैयाँमध्ये ७९ करोड ५८ लाख ९३ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका लेखाअधिकृत देबेन्द्र प्रधानले जानकारी दिएका छन् । राक्सिराङ गाउँपालिकाले आव २०८०÷८१ मा ६३ करोड २४ लाख ९६ हजार रुपैयाँको बजेट बिनियोजन गरेकोमा ५४ करोड ५७ लाख ५८ हजार रुपैयाँ खर्च गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिएका छन् ।

कैलाशले गत आवमा ५२ करोड ४२ लाख ५५ हजार रुपैयाँ बजेट बिनियोजन गरेकोमा चालुतर्फ २६ करोड ८३ लाख ४० हजार अर्थात ८३ दशमलव १५ प्रतिशत खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत बिनोद रोक्काले बताएका छन् । विकास बजेटतर्फ १७ करोड ११ लाख १४ हजार अर्थात विनियोजनको ८४ दशमलव ९४ प्रतिशत खर्च गरेको छ ।हेटौंडा उपमहानगरपालिकाले पनि गत आर्थिक वर्षमा ८० प्रतिशतमाथि बजेट खर्च गर्न सफल भएको छ ।

बिगतको वर्षको तुलनामा उपमहानगरको बजेट खर्चको अवस्थामा सुधार आएको छ । आव २०८०÷८१ मा कुल २ अर्ब ९२ करोड २९ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको हेटौंडा उपमहानगरमा २ अर्ब ३४ करोड ५१ लाख २२ हजार अर्थात कुल विनियोजनको ८० दशमलव २३ प्रतिशत खर्च भएको उपमहानगरका सूचना अधिकारी भानुभक्त थपलियाले बताएका छन् । थाहा नगरपालिकाले पनि ८० प्रतिशतमाथि नै खर्च गर्न सफल भएको छ ।

थाहाले गत आर्थिक वर्षका लागि एक अर्ब ३ करोड ७० लाख विनियोजन गरेकोमा ८३ करोड २४ लाख २१ हजार अर्थात कुल विनियोजनको ८० दशमलव २७ प्रतिशत खर्च गरेको तथ्यांक सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिएका छन् ।ईन्द्रसरोबर गाउँपालिकाले पनि करिब ८० प्रतिशत हाराहारी खर्च गरेको देखिएको छ । कुल ४९ करोड २८ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३९ करोड ५ लाख ४१ हजार अर्थात कुल विनियोजनको ७९ दशमलव २१ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाले पनि ८० प्रतिशत माथि प्रगति गरेको छ । ७० करोड ५५ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा ५६ करोड ९७ लाख ६८ हजार अर्थात ८० दशमलव ७५ प्रतिशत खर्च भएको गाउँपालिकाको राजस्व, अनुगमन तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए । भीमफेदी गाउँपालिकाको खर्च ६८ दशमलव ७१ प्रतिशतमै खुम्चिएको छ ।भीमफेदीमा कुल ७५ करोड ६५ लाख ६३ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा ५१ करोड ९८ लाख ६१ हजार रुपैयाँ मात्र खर्च भएको तथ्यांक छ ।

बागमती र बकैया गाउँपालिकाले पनि ८० प्रतिशतमाथि नै खर्च गर्न सफल भएका छन् । बागमती गाउँपालिकाले गत आवमा ६८ करोड ५५ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा ५७ करोड ४३ लाख ५६ हजार अर्थात ८३ दशमलव ७८ प्रतिशत खर्च गरेको छ ।बकैया गाउँपालिकाले पनि कुल विनियोजनको ८३ दशलव ९७ प्रतिशत खर्च गरेको छ । कुल ८१ करोड ७० लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६८ करोड २४ लाख २१ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*