मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन

साझाकुरा
२०८१ श्रावण ५, शनिबार ११:२०

हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको शुक्रबार ललितपुरमा बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएको छ ।प्रदेश सम्पर्क कार्यालय, ललितपुरमा बसेको समितिको बैठकले जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । जम्कट्टेललाई विश्वासको मत नदिने निर्णयसँगै सांसदहरुलाई विपक्षमा मत हाल्न निर्देशनसमेत दिएको कांग्रेस बागमती प्रदेश समितिले जानकारी दिएको छ । मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनलाई राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए । नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पाँचजना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

माओवादी सांसदहरुकै अनुसार जम्कट्टेलले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिन पनि सक्नेछन् । उनलाई सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले पनि राजीनामा दिएर आगामी सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएको बताइएको छ ।

जम्कट्टेलको राजीनामा की विश्वासको मत ?
कांग्रेस र एमालेलाई नचाउँदै तीनपटक विश्वासको मत लिएर १८ महिना सरकारमा रहँदै बर्हिगमनतर्फ उन्मुख जम्कट्टेलले ६ साउनमा प्रदेशसभाबाट आगामी सरकारका लागि मार्गप्रशस्त गर्ने तयारी गरेका हुन् । तर, जम्कट्टेलले ६ साउनमा विश्वासको मत लिन्छन् की राजीनामा दिएर मुख्यमन्त्रीको कुर्सी छोड्छन भन्ने हालसम्म निश्चित छैन । ‘मुख्यमन्त्रीज्यूले प्रदेशसभा फेस गर्नुहुने भएको छ । तर, विश्वासको मत लिन पनि सक्नुहुन्छ, प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा पनि दिनसक्नु हुन्छ । के गर्ने ? भनेर निक्र्यौल भइसकेको छैन ।,’ उनको सचिवालय स्रोतले भन्यो ।

जम्कट्टेलसँग विश्वासको मत लिने र राजीनामा दिएर बर्हिगमनको बाटो रोज्नुपर्ने दुई विकल्प मात्रै छन् । केन्द्रीय सत्तासमिकरण अनुसार विश्वासको मत उनको ‘मनशान्ति’ का लागि मात्रै सीमित हुनेछ । उनीसँग विश्वासको मत पाएर सरकार टिकाउने बहुमत सांसद छैनन् ।प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक छ । उनको पक्षमा आफ्नै पार्टी माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई गरी ३० सांसद मात्रै छन् । आफ्नो पक्षमा बहुमत सांसद नहुँदानहुँदै राजीनामा नदिएर जम्कट्टेल विश्वासको मत लिन अगाडि बढेका हुन् ।

पहिलोपटक सरकारको नेतृत्व गर्दै कांग्रेस

पछिल्लो सत्तासमिकरणको शीर्ष नेतृत्वमा बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई भागबण्डामा परेको चर्चा छ । भागबण्डाअनुसार बागमती कांग्रेसले पाउँदा यहाँ पहिलोपटक सरकारको नेतृत्व गर्ने अबसरको सिर्जना हुनेछ ।

बागमती प्रदेशमा सात वर्षपछि पहिलोपटक कांग्रेसले नेतृत्व गर्ने अवसरमा पाउँदै गरेको हो । २९ माघ ०७४ मा पहिलोपटक तत्कालीन नेकपाका डोरमणि पौडेल मुख्यमन्त्री बनेका थिए । त्यसयता बागमतीले तीनजना मुख्यमन्त्री पाए पनि कांग्रेसले त्यो अवसर पाएको थिएन । यसपटक भने कांग्रेस र एमालेबीच बनेको सत्तासमीकरणले बागमतीमा कांग्रेसले नेतृत्व गर्ने अवसर पाउँदै छ ।तर, कांग्रेसबाट को मुख्यमन्त्री बन्ने ? भन्ने विषय चासोका रुपमा हेरिएको छ ।

कांग्रेसबाट मुख्यमन्त्रीका रुपमा प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशसभापति ईन्द्रबहादुर बानियाँको नाम चर्चामा छ । कांग्रेस संसदीय दलको विधानमा दलकै नेताले सरकारको नेतृत्व गर्ने व्यवस्था छ । प्रदेशसभा संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा ‘पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा संसदीय दलको नेताको हैसियतमा सरकारमा नेतृत्व प्रदान गर्ने’ भन्ने उल्लेख छ । कांग्रेसले सरकार बनाउने अवस्था र संसदीय दलको विधान कार्यान्वयन गर्दा लामा मुख्यमन्त्रीका निर्विकल्प पात्र हुन् ।

तर, बागमतीमा कांग्रेसभित्र देखिएको पछिल्लो परिस्थिति र नेतृत्व परिवर्तन गर्नुपर्ने आवाजले दलका नेता लामालाई निर्विवाद मुख्यमन्त्री बन्न सहज नभएको पार्टीवृत्तमा चर्चा छ । प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका बानियाँलाई आगामी मुख्यन्त्रीका रुपमा हेरिएको थियो । त्यतिबेला नेता बानियाँको मुख्यमन्त्री हुने साइत जुरेन । यतिबेला मुख्यमन्त्रीको दाबी गर्दै दुवै नेताले बुढानीलकण्ठमा भेटघाटलाई तीव्रता दिएका छन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधरका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*