बागमतीमा माओवादी नेतृत्वको सरकारको आज अन्तिम दिन

साझाकुरा
२०८१ श्रावण ६, आईतवार १३:४८

हेटौंडा- नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समिकरण बनाएपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार आज आइतबार ढल्दैछ ।अल्पमतमा परेको १३ दिनपछि प्रदेशसभामा दिउँसो १ बजे विश्वासको मत लिने तयारीमा रहेका जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन् । सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प छैन । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ । २४ असारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालका लागि २५ पुस २०७९ देखि जम्कट्टेल मुख्यमन्त्रीको कुर्सीमा थिए ।मुख्यमन्त्री जम्कट्टेलले १८ महिनामा तीनपटक विश्वासको मत लिएर सत्ता जोगाएका थिए ।

सत्तासमीकरण परिवर्तनसँगै जम्कट्टेलले ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए । एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाइएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले पहिलोपटकमा १०५ जना सांसद, दोस्रो पटकमा ६७ जना सांसद र तेस्रो पटक ५६ जना सांसदको विश्वासको मत पाएका थिए । प्रदेशको साँढे ६ वर्षमा निरन्तर सत्तामा रहेका उनी अब प्रमुख प्रतिपक्षीको कित्तामा पुग्नेछन् । प्रदेशको पहिलो कार्यकालमा २०७४ देखि ०७८ सम्म आन्तरिक ममिला तथा कानुनमन्त्री बनेका उनी २०७८ देखि २०७९ वैशाखसम्मै आर्थिक मामिला तथा योजनामन्त्री भएर काम गरे । दोस्रो कार्यकालबाट उनी मुख्यमन्त्री भए ।

कांग्रेस र एमालेलाई नचाउँदै तीनपटक विश्वासको मत लिएर १८ महिना सरकारमा रहँदै बर्हिगमनतर्फ उन्मुख जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेशसभाबाट आगामी सरकारका लागि मार्गप्रशस्त गर्ने तयारी गरेका हुन् । तर, जम्कट्टेलले आइतबार विश्वासको मत लिन्छन् की राजीनामा दिएर मुख्यमन्त्रीको कुर्सी छोड्छन भन्ने हालसम्म निश्चित छैन । जम्कट्टेलसँग विश्वासको मत लिने र राजीनामा दिएर बर्हिगमनको बाटो रोज्नुपर्ने दुई विकल्प मात्रै छन् । केन्द्रीय सत्तासमिकरण अनुसार विश्वासको मत उनको ‘मनशान्ति’ का लागि मात्रै सीमित हुनेछ ।

उनीसँग विश्वासको मत पाएर सरकार टिकाउने बहुमत सांसद छैनन् । प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक छ । उनको पक्षमा आफ्नै पार्टी माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी)का ७ र हाम्रो नेपाली पार्टीका दुई गरी ३० सांसद मात्रै छन् । आफ्नो पक्षमा बहुमत सांसद नहुँदानहुँदै राजीनामा नदिएर जम्कट्टेल विश्वासको मत लिन अगाडि बढेका हुन् बागमतीमा पछिल्लो सत्तासमीकरणमा बाहिर आएको सहमतिअनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने जनाइएको छ । यद्यपि, यसलाई नै अन्तिम निर्णय मान्न नसकिनेमा एमाले र कांग्रेसकै नेताहरु बताउँछन् । जम्कट्टेलले मुख्यमन्त्रीबाट बिदा भएर नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढेसँगै सरकारको नेतृत्व कसले लिने भन्ने विषय टुंगो लाग्ने एमालेका एक सांसदले जानकारी दिए ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् । बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*