अस्पतालको ओसीएमसीबाट २९४ जना पीडितले सेवा लिए

साझाकुरा
२०८१ श्रावण ६, आईतवार १४:०२

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी)बाट २९४ जना पीडित महिला तथा पुरुषले सेवा लिएका छन् ।
स्थापना भएको वर्ष ६८ जनाले सेवा लिएको ओसीएमसी प्रभावकारी बन्दै गइरहेको छ । पीडित महिलाका लागि सहारा बन्दै गइरहेको ओसीएमसीले गत आर्थिक वर्ष २०८०÷८१ मा २ सय ९४ जना पीडित महिलालाई सेवा प्रदान गरेको हो । सेवा लिनेमध्येमा १२ जना पुरुष पनि थिए । २०६८ सालमा हेटौंडा अस्पतालसहित मुलुकमा ५ वटा अस्पतालमा ओसीएमसी सेवा संचालन सुरुवात गरिएको थियो ।

ओसीएमसीले यौनजन्य र घरेलुहिंसामा परेका महिलालाई औषधिउपचार, कानूनी कारबाहीमा सहयोगसँगै परामर्श र मनोबल बढाउने कार्य गर्दै आएको छ । २४ घन्टा खुला हुनुपर्ने र सेवा पनि दिनुपर्ने भएकाले जनशक्तिको अभावले गर्दा ओसीएमसीका कर्मचारीलाई समस्या भएको ओसीएमसीले उल्लेख गरेको छ । कार्यालयमा ३ जनामात्र कार्यरत छन् । जनशक्तिको अभावले गर्दा सेवाप्रदान गर्न समस्या भइरहेको ओसीएमसीकी हेटौंडाकी प्रमुख अम्रिका श्रेष्ठले बताइन् ।

मुलुकका बिभिन्न अस्पतालका स्वास्थ्यकर्मीसमेत हेटौंडा अस्पतालको बिगत १३ वर्षदेखि सञ्चालित ओसीएमसीमा अवलोकनका लागि आउने गरेको अस्पतालका डा.रामचन्द्र सापकोटाले बताए । स्वास्थ्य विभाग र मन्त्रालयले पनि हेटौंडाकै ओसीएमसीलाई अवलोकनका लागि सिफारिस गर्ने गरेको डा. सापकोटाले बताए ।ओसीएमसीले सञ्चालन गरेका सेवा मुलुकभरमै उत्कृष्ट भएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी यहाँ अवलोकन गर्न आउने गरेका हुन् । गत आवमा भरतपुर, सिन्धुली अस्पताललगायतका स्वास्थ्यकर्मीको टिम अवोलकनका लागि यहाँ आएका थिए । पीडित महिलाको निम्ति ओसीएमसी भरोसाको केन्द्र बनेको मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले बताए । ‘यौनजन्य र घरेलुहिंसामा परेकाहरुले औषधिउपचार र कानुनी उपचार पाउँदै आएका छन् ।,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*