तुलसी घिमिरेको गजल संग्रह ‘घामका फूलहरु’ विमोचन

साझाकुरा
२०८१ श्रावण ६, आईतवार १४:१८

हेटौंडा- मकवानपुरका अग्रज साहित्यकार तुलसी घिमिरेद्वारा लिखित गजल संग्रह ‘घामका फूलहरु’ शनिबार हेटौंडामा विमोचन भएको छ ।गजल मञ्च मकवानपुरको आयोजनामा २१५ औँ गजलयात्राका साथ घिमिरेद्वारा लिखित गजल संग्रह विमोचन गरिएको हो । मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका अग्रज शिक्षासेवी तथा अग्रज सञ्चारउद्यमी देव श्रेषठ, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतले पुस्तकको लोकार्पण गरेका हुन् । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको संग्रहमाथि समिक्षक घनश्याम घिमिरेले टिप्पणी गरेका थिए ।

कार्यक्रममा साहित्यकार स्वस्तिका दाहाल, सञ्जित श्रेष्ठ, हरि पौड्याललगायतले घिमिरेद्वारा लिखित गजल संग्रहबाट गजलवाचन गरेका थिए । समीक्षक घिमिरेले घामका फूलहरुको समीक्षा गर्दै पाको उमेरका लेखकले युवा जस्तै जोश जाँगरसहितको गजल लेखेको बताए । लेखक घिमिरेले आफ्ना जीवनमा अनुभूत गरेका, देखेका विषयलाई गजलमार्फत सचित्र वर्णन गर्न सफल भएको उनले प्रतिक्रिया दिए ।

२०११ फागुन १५ गते बर्माको होम्लिनमा जन्मिएका लेखक घिमिरेका यसअघि फूलका कुरा जूनका कुरा गीत संग्रह २०७१ र माटोको मोह कविता संग्रह २०८० प्रकाशित छ । गजल संग्रहको रुपमा घिमिरेको पहिलो कृति हो । उनको संग्रहमा ७० वटा गजल समेटिएका छन् । साहित्यकार देवराज तिवारीले घिमिरेको संग्रहमा भूमिका लेखेका छन् ।२१५ ओैं गजलयात्राका सन्दर्भमा गजलकार मुस्कान तिमल्सिना, मिथिला अधिकारी, डिबी बर्ताैलालगायतले गजलवाचन गरेका थिए ।

गजलको उन्नयन र प्रवद्र्धनमा काम गरिरहेको गजल मञ्च मकवानपुरले हरेक महिना गजल यात्राको आयोजना गर्दै आइरहेको छ । गजलउत्सव तथा महोत्सवका साथै विद्यालय तहमा गजल प्रशिक्षणको कार्यक्रमसमेत गर्दै आएको मञ्चका अध्यक्ष समर्पणले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*