बागमतीमा नयाँ सरकार गठन आह्वान, आज दाबी पेश

साझाकुरा
२०८१ श्रावण ७, सोमबार १०:०४

हेटौंडा- बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेशप्रमुख यादवचन्द्र शर्माले आइतबार नै आह्वानगरेका छन् ।उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशप्रमुख शर्मालाई राजीनामा बुझाएका थिए । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्ने घोषण गरेसँगै प्रदेशप्रमुख कार्यालय पुगेर शर्मालाई राजीनामा बुझाएका हुन् ।

शर्माले जम्कट्टेललाई अर्काे सरकार गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजिम काम चलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समिकरण बनेसँगै माओवादी केन्द्रका नेता जम्कट्टेलले अल्पमतमा परेको १३ दिनपछि आइतबार प्रदेशसभाबाट अर्काे सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए ।

उनले १८ महिना सरकारको नेतृत्व गरे ।प्रदेशप्रमुख शर्माले सरकार गठनका लागि आह्वान गरेसँगै दाबी पेश गर्न तयारी अवस्थामा रहेको नेपाली कांग्रेस बागमतीका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए । उनकाअनुसार आज सोमबार बिहान १० बजेपछि दाबी पेश गरिने भएको छ । कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहितको समर्थन लिएर कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्नेछन् ।

लामालाई आइतबार हेटौंडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा अगाडि बढाउने सर्वसम्मत निर्णय गरेको थियो । दाबी पेशका लागि कांग्रेस र एमाले सांसदसको हस्ताक्षर संकलन कार्य भइसकेको छ । प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ जना सांसद छन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।बागमतीमा पहिलोपटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ ।

संघीयता लागू भएसँगै बागमतीमा चारजना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन । मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा लामा २०७९ मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अधिकांश समयमा प्रमुख प्रतिपक्षी बेन्चमा बिताएको कांग्रेस सदनको पहिलो ठूलो दल हो ।

को हुन लामा ?

भावी मुख्यमन्त्री लामा नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) ४ मंसिर २०७९ मा भएको निर्वाचनबाट विजयी भएका हुन् । पेशाले निर्माण व्यवसायी उनी संविधानसभा सदस्यसमेत भइसकेका कांग्रेसका पुराना नेतामा पर्छन् ।नेता लामा २०४३ सालदेखि विद्यार्थी संगठनबाट कांग्रेसको राजनीतिमा लागेका थिए । उनी हाल कांग्रेसको केन्द्रीय सदस्यसमेत छन् । उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकामा रहेर काम गरेका थिए । १३ पुस ०७९ मा भएको नेपाली कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी भएसँगै मुख्यमन्त्री हुने ढोका खुलेको थियो । दलको नेता छान्ने निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*