गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी

साझाकुरा
२०८१ श्रावण ७, सोमबार १०:१२

हेटौंडा-नेपाली भाषाको जननी भएर पनि संस्कृत भाषा आजभोलि विद्यालयहरुमा पढाई हुँदैन । संस्कृत भाषा भन्दा अंग्रेजी भाषाप्रतिको लगाव विद्यार्थी र अभिभावकमा देखिन्छ ।संस्कृत भाषाले नेपाली भाषा, परम्परा र संस्कृतिको जगेर्ना गर्ने भएकाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडीमा १८ जना बालकहरु संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित बालक रहेका छन् । दुई महिनाअघि वैदिक वानप्रस्थ आश्रमद्वारा सञ्चालित संस्कृत गुरुकुलमा भर्ना भएका हेटौंडा–८ का सम्राट दराइली अहिले मज्जाले संस्कृत श्लोकहरु वाचन गर्नसक्ने भएका छन् ।

आमा बुवाको इच्छा र संस्कृत पढ्ने आफ्नै चाहनाले गुरुकुल पुगेका दराइलीलाई संस्कृत पढेर ज्योतिष बन्ने रहर छ । शीरमा ढाका टोपी, निधारमा लामो टीका लहरै बसेर गूरुले उच्चारण गर्नुभएको मन्त्र दोहो¥याउँदै छन् १८ जना बालकहरु । उनीहरु गुरुको सानिध्यमा बसेर संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित समुदायका बालक छन् । यहाँ उदयपुर, सप्तरी, बारादेखिका विद्यार्थी अध्ययनका लागि आएका छन् ।

गुरुकुलले यहाँ अध्ययनरत सबै बटुकको व्रतबन्ध गरिदिएको छ । गुरुकुलको आफ्नै आचरणमा रमाएका विद्यार्थीहरु बिहान उठेदेखि नित्यकर्म, वेदअध्ययन र ध्यानमा विद्यार्थी जुट्छन् । यस गुरुकुलमा सामाजिक, नेपाली, गणित, विज्ञान र अंगे्रजी ५ सय पूर्णाङ्क र २ सय पूर्णाङ्कको संस्कृत व्याकरण र संस्कृत साहित्य अध्यापन गराइन्छ । मुठ्ठीदानबाट नै चलेको यस गुरुकुलमा संस्कृत अध्यापन गराउने ३ जना गुरु र सेवानिवृत्त भएका स्थानीय शिक्षकहरुले निःशुल्क रुपमा पढाउने गरेको प्रधानाचार्य खेमप्रसाद कोइरालाले बताए ।

ज्योति माध्यमिक विद्यालयको पूरानो भवनमा सञ्चालन गरिएको गुरुकुल दर्ता प्रक्रियामा नै रहेका कारण चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । विद्यार्थी अध्ययनका बेला बस्ने आसनको उचित प्रबन्ध नहुँदा प्रयोग भइसकेका फ्लेक्स, कार्टुन ओछ्याएर विद्यार्थी पढ्न बाध्य छन् । सनातन धर्म, संस्कार र संस्कृतिका साथै व्यवहारिक ज्ञान प्रदान गर्न सञ्चालित गुरुकुल शिक्षालाई राज्यले प्राथमिकतामा राख्न जरुरी देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*