ढल्यो जम्कट्टेल सरकार, १८ महिनाको उपलब्धी सार्वजनिक

प्रतिक्षा न्यौपाने
२०८१ श्रावण ७, सोमबार १०:१७

हेटौंडा- बागमती प्रदेशमा १८ महिना लामो सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले राजीनामा दिएर कुर्सी छोडेका छन् ।केन्द्रीय सत्तासमिकरणमा परिवर्तन आएसँगै सातवटै प्रदेशबाट माओवादी केन्द्र सत्ताविमुख हुँदा बागमतीबाट पनि जम्कट्टेल नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेशसभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

२४ असारमा सतासाझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्तासमीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् । जम्कट्टेल सरकारबाट एमाले साढे २ महिनामै बाहिरियो ।१० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाएका थिए । २० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्तासमीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो ।

उनले आइतबार बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा नयाँ सत्तासमिकरणप्रति आशंका व्यक्त गर्दै एमालेप्रति कटाक्ष गरे । जम्कट्टेलले माओवादी केन्द्रका कारणले चुनावी गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई लाभ भएको दाबी गरे । संसदीय राजनीतिमा कांग्रेस एमाले भन्दा कान्छो भएपनि परिपक्व भएको बताए ।‘हिसाब गरौं, तालमेल र समीकरणको फाइदा अहिले समीकरण गर्ने दलले लिनुभएको छ’, जम्कट्टेलले भने, ‘माओवादीलाई घाटा भएको छ । माओवादी पनि अब तपाइहरुसँग तालमेल गर्दैन ।,’ सदन विघटन गर्दा कांग्रेससँग र कम्युनिस्ट मिल्ने उद्देश्यले एमालेसँग विगतमा तालमेल गरिएको उनले सुनाए । दुई कम्युनिस्ट एक हुने गरी विगतमा चालिएको कदम असफल भएको जम्कट्टेलले बताए ।

कांग्रेस एमालेको सरकार बनेपछि प्रदेशलाई अधिकार आउनेमा विश्वास गर्न नसकिने जम्कट्टेलले बताए । कांग्रेस र एमाले सम्मिलित नयाँ सरकार पनि धेरै टिक्ने विश्वास आफूलाई नरहेको जम्कट्टेलले बताए । उनले प्राविधिक हिसाब मिलाउन नयाँ सरकार बनेको आरोप लगाए । राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सरकार नबनेको भन्दै दुई दलले प्राविधिक कुरा मिलाउन समिकरण बनाएको आरोप लगाएका हुन् ।

यसअघि उनले शरणार्थी प्रकरण, गिरिबन्धु टि–स्टेटको फाइलकै कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको दाबी गरे । यस्ता धेरै फाइल अब खुल्ने विश्वास नरहेको पनि उनले बताए । उनले प्रतिनिधिसभाको पहिलो र दोस्रो दल मिलेर राजनीतिक स्थायित्व दिने, राष्ट्रिय सहमतिको सरकार बनाउने भनेर रातारात सहमति भएको बताएका छन् । दुई दलको सहमति के हो ? भनेर बाहिर नल्याइएको र जनताले प्रश्न गरिरहेको उनले सुनाए । यो समिकरण स्वाभाविक नभएको र यसको कुनै लक्ष्य नरहेको उनले आरोप लगाए ।

स्थायित्व संस्कार, व्यवहारमा खोज्नुपर्ने जम्कट्टेलको भनाई छ । स्थायित्वको नाममा जनतालाई ढाँटिएको भन्दै उनले भने, ‘पुरानै दल र पुरानै नेताहरु हुनुहुन्छ, सबैले चिनेका छौं,’ उनले भने । संविधान संशोधन असम्भव भएको उनले बताए । निर्वाचन प्रणाली पूर्णसमानुपातिक र कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधन गर्न ठूला दल तयार हुनुपर्ने जम्कट्टेलले जोड दिए ।१८ महिने कार्यकालको उपलब्धी सार्वजनिकमुख्यमन्त्री जम्कट्टेलले आफ्नो कार्यकालमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा डेढवर्ष अवधिमा प्रदेशका मन्त्रालयमार्फत गरिएका कामको विवरण समेटिएको पुस्तक सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलसहित भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल र युवा तथा खेलकुद मन्त्री रमा आलेमगरको पनि सहभागिता थियो । आफ्नो कार्यकालमा धेरै राम्रा र सफल कामहरु गरेको मुख्यमन्त्री जम्कट्टेलको दावी थियो । कानुन, नियमावली, कार्यविधिसँगै भौतिक पूर्वाधारको क्षेत्रमा सरकारले राम्रो काम गरेको उनले बताए ।

प्रदेशलाई संस्थागत विकास गर्न प्रदेश सरकारले सशक्त भूमिका खेलेको उनले स्पष्ट पारे । तत्कालीन ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि राष्ट्रिय समन्वय परिषद् र तीन तहको कार्य विस्तृतीकरण बैठकमा प्रदेश सरकारलाई अधिकार दिनुपर्ने आवाज सशक्त ढंगबाट उठाएको उनले सुनाए । प्रदेश सरकारले संविधानप्रदत्त अधिकारसम्बन्धी कानुन निर्माण गरी सार्वजनिक सेवाप्रवाहमा सुधारको पहल गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

डेढ वर्षमा प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९, प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० निर्माण भई कार्यान्वयनको चरणमा रहेको उनले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ संशोधन गरिएको उनको भनाई छ ।२ वटा विनियोजन तथा आर्थिक ऐन जारी गरिएको थियो । मन्त्रिपरिषद्का ४० बैठक सञ्चालन भई २११ निर्णय गरिएको छ भने एक अध्यादेश, नियमावली ७, निर्देशिका ४, कार्यविधि २०, मापदण्ड ४ र आदेश ३ प्रदेश राजपत्रमा प्रकाशन गरिएको उनले जनाए ।

आफ्नो कार्यकालमा सडक, खानेपानी, सिँचाईलगायत भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण प्रगति हासिल गरेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । प्रादेशिक सडक यातायात गुरुयोजना २०८१ स्वीकृत गरी २० वटा सडकलाई प्रदेश लोकमार्ग र २३० वटा सडकलाई प्रदेशमार्गमा समावेश गरिएको उनले बताए । डेढ वर्षमा ५९६ किलोमिटर पक्की सडक निर्माण, २६७ किलोमिटर ग्राभेल सडक, ६१ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण भएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*