बागमतीमा सोमबार रोकिएको मुख्यमन्त्रीमा लामाको दाबी पेश आज

हेटौंडा- बागमती प्रदेशमा नेकपा एमालेभित्रको आन्तरिक समस्या र दुई सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीचको मन्त्रालय भागबण्डाले सोमबार रोकिएको मुख्यमन्त्रीको दाबी पेश आज मंगलबार हुने भएको छ ।एमालेभित्र मन्त्रीहरुको टुंगो नलाग्दा र कांग्रेससँग मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि सोमबार बिहान प्रदेशप्रमुखको कार्यालयमा पुगेर दाबी पेश गर्ने पूर्वनिर्धारित योजना एकाएक रोकिएको हो । कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले प्रदेशप्रमुख कार्यालयमा दावी पेश गर्ने तयारी थियो ।
प्रदेशप्रमुख यादवचन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । एमालेका दलका नेता जगन्नाथ थपलिया आकास्मिक कामले काठमाडौं हिँडेका थिए । उनी एमालेभित्रको मन्त्रीहरुको टुंगो लगाउन पार्टी नेतृत्वसँगको छलफलका लागि सोमबार नै काठमाडौं हिँडेको बुझिएको छ । उनीसँगै एमालेका अन्य प्रदेश सांसदहरु पनि काठमाडौं पुगेका थिए ।
थपलियाले आफूलाई पार्टीबाट आकस्मिक रुपमा बोलाएकाले काठमाडौं जानुपर्ने बारे जानकारी गराएपछि सोमबारका लागि दावी पेश रोकिएको नेता लामाले जानकारी दिए । एमालेले मागेको ७ वटा मन्त्रालय दिन कांग्रेस तयार नभएपछि भागबण्डामा सहमति हुन सकेको थिएन । कांग्रेसले ६ वटा मन्त्रालय दिन प्रस्ताव गरेको एमालेका एक सांसदले बताए । ‘कांग्रेसले मुख्यमन्त्री, भौतिक मन्त्रीसहित ठूला मन्त्रालय पनि लिने भएपछि एमालेलाई सातवटा मन्त्रालय दिन भनिएको हो । मन्त्रालयको न्यायोचित बाँडफाँट हुनुपर्छ ।,’ ती सांसदले भने ।
कांग्रेसका प्रमुखसचेतक गोविन्द लम्सालले भने मन्त्रालय भागबण्डामा धेरै मतभेद नरहेको बताए । उनले २ मन्त्रालयको हकमा भागबण्डा नमिलेको बताउँदै दुवै दलका नेताले यसलाई टुंग्याउने बताए । नयाँ बन्ने मुख्यमन्त्री लामाले एकैपटक सबै मन्त्रीको शपथग्रहण गर्ने गरी तयारी अगाडि बढाउन सत्तारुढ दलको छलफलको क्रममा प्रस्ताव राखेका थिए । त्यसपछि दुवै दलले मन्त्रीको सूचीलाई अन्तिम रुप दिएपछि विवाद देखिएको हो । दुवै दलबीच आइतबार राति हेटौंडास्थित एक होटलमा बैठक बसेर मन्त्रालयको भागबन्डा विषयमा छलफल भएको थियो ।
लामालाई आइतबार हेटौंडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा अगाडि बढाउने सर्वसम्मत निर्णय गरेको थियो । दाबी पेशका लागि कांग्रेस र एमाले सांसदसको हस्ताक्षर संकलन कार्य भइसकेको छ । प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ जना सांसद छन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।बागमतीमा पहिलोपटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । संघीयता लागू भएसँगै बागमतीमा चारजना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन । मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अधिकांश समयमा प्रमुख प्रतिपक्षी बेन्चमा बिताएको कांग्रेस सदनको पहिलो ठूलो दल हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशप्रमुख शर्मालाई राजीनामा बुझाएसँगै बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो । उनले आइतबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्ने घोषण गरेसँगै प्रदेशप्रमुख कार्यालय पुगेर शर्मालाई राजीनामा बुझाएका थिए । शर्माले जम्कट्टेललाई अर्काे सरकार गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३) बमोजिम कामचलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन् ।