बागमतीमा कांग्रेसबाट पहिलो मुख्यमन्त्री बने लामा, आज सपथ

साझाकुरा
२०८१ श्रावण ९, बुधबार १०:४५

हेटौंडा- नेपाली कांग्रेसका बहादुरसिं लामा बागमती प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । उनी कांग्रेसबाट बागमतीमा मुख्यमन्त्री बन्ने पहिला नेता हुन् ।बागमतीमा यसअघि कांग्रेसको नेतृत्वमा सरकार गठन हुन सकेको थिएन । लामा कांग्रेसबाट मात्र नभई देशभरमै तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पनि पहिलो भएका छन् । उनलाई प्रदेशप्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार अपरान्ह ५ बजे मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामाले मंगलबार दिउँसो कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । प्रदेशप्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए । जम्कट्टेलले ६ साउनमा प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिएपछि नयाँ सत्ता समिकरणअनुसार सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

लामाको दाबी पेश सोमबार नै गर्ने पूर्वनिर्धारित कार्यक्रम प्राविधिक कारणले रोकिएको थियो । नुवाकोटका लामा पेशाले निर्माण व्यवसायी हुन् । उनको आज बुधवार बिहान ११ बजे प्रदेशप्रमुख कार्यालय परिसरमा पद तथा गोपनीयताको सपथ हुने तय भएको छ । लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषद्लाई एकैपटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुखसचेतक गोविन्द लम्सालले जानकारी दिए ।

यद्यपि, एमालेले ६ मन्त्री र मन्त्रालय टुंग्याइसक्यो भने कांग्रेसले मन्त्री छनोट गरिसकेको छैन । कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भइरहेको जनाइएको छ । कांग्रेसका मन्त्रीहरुको नाम बुधवार बिहानसम्म टुंग्याइसक्ने लामाको सचिवालयले जानकारी दिएको छ ।

२०७४ माघबाट हालसम्म बागमतीमा चार मुख्यमन्त्री भइसकेका छन् । कांग्रेसले भने एकपटक पनि सरकारको नेतृत्व गर्न पाएको थिएन । केन्द्रमा गठबन्धन फेरबदल हुँदासमेत बागमतीमा कांग्रेस सत्ताको नेतृत्वबाट बिमुख रह्यो । २८ माघ २०७४ मा डोरमणि पौडेल बागमतीकोे पहिलो मुख्यमन्त्री बने । पौडेल मुख्यमन्त्री रहेकै बेला नेकपामा विवाद उत्पन्न भयो । २ भदौ २०७८ पौडेलले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् ।

एमाले विभाजित भएपछि १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजे । सरकार अल्पमतमा परेसँगै १० कार्तिक २०७८ मा राजीनामा दिइन् । केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलको गठबन्धन बन्यो । ११ कार्तिक २०७८ मा एकीकृत समाजवादीका दलका नेता राजेन्द्रप्रसाद पाण्डे ४ दलको समर्थनमा मुख्यमन्त्री बने ।

२०७९ मंसिरमा भएको चुनावलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भए ।

संसदको पहिलो दल भएर पनि कांग्रेस सत्ता नेतृत्वमा पुग्न सकेन । तर, यही असार १७ गते कांग्रेस र एमालेबीच सातबुँदे सहमतिपछि पहिलोपटक कांग्रेस बागमतीको नेतृत्वमा पुगेको हो । जसको अबसर लामाले पाए ।नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा नुवाकोट २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यकपर्छ । कांग्रेस र एमालेसँग ६४ सांसद छन् । प्रदेशसभामा नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*