बागमतीमा एमालेका ६ जना मन्त्रीको मन्त्रालय छिनोफानो

साझाकुरा
२०८१ श्रावण ९, बुधबार ११:०७

हेटौंडा-बागमती प्रदेश सरकारमा जान तयार भएका एमालेका ६ जना मन्त्रीको मन्त्रालय पनि छिनोफानो भएको छ ।एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापामगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने अन्तिम टुंगो लागेको छ ।

यसअघिको मन्त्रालय भागबण्डामा दुईवटा मन्त्रालय हेरफेर भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय कांग्रेलले लिँदा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय पायो । कांग्रेसले खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय लिएर एमालेलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय दिएको छ । यसअघिको आर्थिक मामिला र खानेपानी मन्त्रालय एमालेलाई, भौतिक र यातायात मन्त्रालय कांग्रेसलाई भागबण्डा लागेको थियो ।

एमालेका मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए । जम्कट्टेल नेतृत्वको पछिल्लो सरकारमा रहेका जगन्नाथ थपलिया, केशव पोख्रेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ २५ पुस ०७९ मा गठित सरकारमा पनि मन्त्री भइसकेकोले उनीहरुलाई पार्टीले तेस्रोपटक पनि अबसर दिन नचाहेर नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने गरी भागबण्डामा सहमति भएको छ । कांग्रेसलाई मुख्यमन्त्रीसहित ७ र एमालेलाई ६ मन्त्रालयको भागबण्डा टुंगिएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए । कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय लिएको सचेतक लम्सालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*