मुख्यमन्त्रीसहित १० मन्त्रीले लिए सपथ, कांग्रेसमा हानथाप

साझाकुरा
२०८१ श्रावण १०, बिहीबार ११:२९

हेटौंडा- बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सहित १० मन्त्रीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।प्रदेशप्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री बहादुरसिं लामा सहित नेकपा एमालेबाट नियुक्त भएका ६ जना र कांग्रेसका ३ जना गरी १० जनालाई सपथ गराएका हुन् । १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमती प्रदेशमा अब ३ मन्त्री नियुक्त गर्न बाँकी छ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको मन्त्रालय भागबण्डाअनुसार ३ जना नै कांग्रेसबाट मन्त्री बन्ने छन् । तर, कांग्रेसभित्र मन्त्री बन्न सांसदहरुबीच हानथाप हुँदा बुधवार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन ।

बुधवार कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिनाविभागीय मन्त्री नियुक्त भएका हुन् । प्रदेशप्रमुख शर्माबाट सपथ लिएका उनीहरुको जिम्मेवारी पछि तोकिने भएको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्री, किरण थापामगरले स्वास्थ्य मन्त्री, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्री, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्री र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रीको सपथ लिएका छन् ।

मुख्यमन्त्री लामाले बुधवार १३ सदस्यीय मन्त्रिपरिषद्लाई एकैपटक पूर्णता दिँदै सबै मन्त्रीको संयुक्त सपथ गराउने योजना बनाएका थिए । तर, नेपाली कांग्रेस भित्र मन्त्रीहरुको आकांक्षी धेरै रहेकाले लामाले मन्त्री व्यवस्थापन गर्न सकेनन् । लामाले कांग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् । उनले थप ३ मन्त्रीको नियुक्ति बारे केहीपनि बोलेनन् ।प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । एमाले भन्दा १० सांसद बढी रहेकोले ७ वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको कांग्रेसलाई एमालेले ६ वटा मन्त्रालय लिएर सहमति जनाएको थियो । कांग्रेसकै प्रस्तावमा एमालेले मन्त्रालय हेरफेरमा पनि मंगलबार सहमति गरेको हो ।

भागबण्डामा एमालेले लिएको आर्थिक मामिला तथा योजना मन्त्रालय र खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय कांग्रेसलाई कांग्रेसले लिएको भौतिक पूर्वाधार विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय एमालेलाई दिएको थियो । ठूला मन्त्रालय कांग्रेसलाई दिएको भन्दै एमालेका नवनियुक्त मन्त्री र सांसदहरुले असन्तुष्टि जनाएका छन् । तर, माग गरेअनुसार ७ वटा मन्त्रालय र ठूला मन्त्रालय पाउँदा पनि कांग्रेस भित्र भने मन्त्री बन्न हानथाप भइरहेको छ ।

कांग्रेसमा मन्त्री बन्न हानथाप भएको पहिलोपटक भने होइन । यसअघि चैत २०७९ मा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी हुँदा पनि कांग्रेस भित्र विवाद थियो । दलका उपनेता रामकृष्ण चित्रकारलाई झण्डै तीन महिना विनाविभागीयमै थन्काएर पछि मन्त्रालय फुटाएर द्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त गरिएको थियो । मन्त्री छनोट र मन्त्रालय व्यवस्थापनमा नवनियुक्त मुख्यमन्त्री लामा कमजोर देखिएका छन् । उनको कमजोरीलाई लिएर मुख्यमन्त्री बन्ने बेलामा समेत कांग्रेस भित्र प्रश्न उठेको थियो ।

नेपाली कांग्रेसका लामा बागमती प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा मंगलबार नियुक्त भएका थिए । उनी कांग्रेसबाट मुख्यमन्त्री बन्ने पहिला नेता बने । लामा कांग्रेसबाट मात्र नभई देशभरमै तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पनि पहिलो भए । उनलाई प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार अपरान्ह ५ बजे मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लामाले मंगलबार दिउसो कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिएपछि नयाँ सत्ता समिकरणअनुसार सरकार गठनको प्रक्रिया सुरु भएको थियो । २०७४ माघबाट हालसम्म बागमतीमा पाँच मुख्यमन्त्री भइसकेका छन् । २८ माघ २०७४ मा तत्कालीन नेकपाबाट एमालेका डोरमणि पौडेल, २ भदौ २०७८ मा एमालेबाटै अष्टलक्ष्मी शाक्य, एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)बाट ११ कार्तिक २०७८ मा राजेन्द्र पाण्डे मुख्यमन्त्री बने ।

२०७९ मंसिरमा भएको चुनावलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले १८ महिना सरकार चलाएर अल्पमतमा परेपछि ६ साउनमा राजीनामा दिएका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*