भौतिकमन्त्री मास्केको पहिलो निर्णयः रुग्ण आयोजनाको अध्ययन गरिने

साझाकुरा
२०८१ श्रावण १०, बिहीबार ११:४०

हेटौंडा-बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले पदभार ग्रहण गरेका छन् । बुधवार मात्र मन्त्रीमा नियुक्त भएका मन्त्री मास्केले साँझ साढे ५ बजे साइत हेरेर पदभार ग्रहण गरेका छन् ।पदभार पछि भएको छलफलमा बोल्दै भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो अभियान रहेको उनको भनाई थियो । उनले भने–‘सेतो लुगा लगाएका छौं, त्यसमा दाग लगाउने काम नगरौ, अरुको कारण पनि बाछिटा आउन सक्छ त्यसबाट पनि वच्नपर्छ ।’

बजेट सहि तरिकाले कार्यान्वयन गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने भन्दै ईमान्दार भएर लाग्न आग्रह गरे । प्रदेश निर्वाचन क्षेत्रमा सम्बन्धित सांसदलाई उत्तरदायित्व बहन गर्ने गरी कार्यक्रम बनाउनुपर्ने पनि उनको भनाई थियो ।मन्त्रालयका गतिविधि सम्पादन गर्न निरन्तर छलफल गर्ने, कर्मचारीको वृत्तिविकासको लागि सहजीकरण गर्ने पनि उनले बताए । महत्वपूर्ण मन्त्रालय भएकोले अब्बल मन्त्रालयको रुपमा गणना हुनेगरी काम गर्न कर्मचारीलाई आग्रह गरे ।

पदभारग्रहण गर्दै मन्त्री मास्केले बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत आयोजना निर्देशनालय तथा कार्यालयमार्फत संचालन भएका आयोजनाहरु तोकिएबमोजिम समयावधिमा सम्पन्न नभई अपेक्षित प्रतिफल प्राप्त गर्न ढिलाई भइरहेको सन्दर्भमा त्यस्ता आयोजनाको पहिचान गरी, कार्यान्वयनमा भएका ढिलासुस्तीको वास्तविक कारण पहिल्याई, यथोचित कारवाही अगाडि बढाई रुग्ण आयोजनाको पहिचान, रुग्ण हुनुको वास्तविक कारण तथा व्यवस्थापनका लागि सुझाव सहित १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेका छन् ।

यसका लागि यातायात पूर्वाधार निर्देशनालयका कायम मुकायम निर्देशक पुष्करप्रसाद पोखरेलको सयोजकत्वमा महाशाखा प्रमुखहरु चन्द्रकाजी गुरुङ, चन्द्रदेव भट्ट सदस्य रहेको समितिलाई जिम्मेवार बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*