मुख्यमन्त्री लामा हिँडे आफ्नै गाउँ

साझाकुरा
२०८१ श्रावण १२, शनिबार ११:२२

हेटौंडा-मुख्यमन्त्री बहादुरसिं लामा आफ्नै गाउँ अर्थात निर्वाचन क्षेत्र रहेको जिल्ला नुवाकोट पुगेका छन् ।९ साउनमा मुख्यमन्त्री नियुक्त भएपछि आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवादसहित गुनासा र सरकारसँगको अपेक्षा सोधपुछका लागि उनी शुक्रबार नुवाकोट पुगेका हुन् । उनी कांग्रेसबाट मन्त्रीहरुलाई सपथ गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिएर मात्रै गृहजिल्ला जाने कार्यक्रम थियो । तर, कांग्रेसभित्रको विवादका कारण उनले बिहीवार साँझलाई तय गरिएको सपथ रोकिएको थियो ।

मुख्यमन्त्री लामा शुक्रबार बिहान ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालय बिदुरमा भेटघाट कार्यक्रममा सहभागी भएका छन् । उनी त्रिशुली अस्पताल नुवाकोटको वार्षिकउत्सव कार्यक्रममा दिउँसो सहभागी भएको उनका स्वकीय सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।कांग्रेसमा मन्त्रीका आंकाक्षीहरुको विवाद तत्काल नमिल्ने छाँटकाँट देखिएपछि आफ्ना निकटस्थ सांसदहरुको सल्लाहमा उनी नुवाकोट हिँडेका हुन् । ‘उहाँ नुवाकोट जानु भएको छ । अब केहीदिन नुवाकोटमै रहनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, पार्टीका नेता, कार्यकर्ता र साथीभाइसँग भेटघाट गरेर मात्रै काठमाडौं हुँदै हेटौंडा फर्किने कार्यक्रम छ ।,’ उनी निकट कांग्रेसका एक सांसदले भने । ती सांसदका अनुसार लामा हेटौंडा फर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको कार्य अगाडि बढ्ने छ ।

लामाले हेटौंडा आउँदा कांग्रेस भित्रको विवाद निरुपणका लागि पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग परामर्श गरेर मात्रै फर्किने एक सांसदको भनाई छ । बागमती प्रदेश सरकारमा बिहीवार चार जनालाई मुख्यमन्त्री लामाले गुपचुपमै मन्त्री नियुक्त गरेपछि कांग्रेसमा विवाद चर्किएको हो । लामाले आफ्नै दल कांग्रेसका तर्फबाट प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए ।

मन्त्री नियुक्तिको पत्र आफैंले बोकेर साढे ४ बजे नै प्रदेशप्रमुखको कार्यालयमा आइपुगेका मुख्यमन्त्री लामाले सवा ५ बजे चारजना मन्त्रीको सपथ तय गर्न लगाएका थिए । तर, उनको निर्णय एकघण्टा पनि टिक्न सकेन । प्रदेशप्रमुख कार्यालयले व्यवस्थापन गरिसकेको सपथ कार्यक्रम साढे ५ नहुँदै रोकिएको खबर आएको थियो । बैठकमै मुख्यमन्त्री लामाले नवनियुक्त मन्त्रीहरुको नामावली बारे जानकारी गराएपछि सुरुमै एमाले बिच्कियो भने कांग्रेसभित्रै ब्यापक असन्तुष्टि देखिएको थियो ।

बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी बिहीवार नै दिएका थिए । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् । बुधवार विनाविभागीय मन्त्रीको सपथ लिएर बिहीवार सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका काफ्ले आर्थिक मामिला तथा योजना मन्त्रालय माग गर्दै आफैंले सपथरोक्न लगाएका थिए ।

काफ्लेले भौतिक पूर्वाधार विकास मन्त्रालय मागेका थिए । कांग्रेसले पहिला लगाइसकेको भागबन्डामा परिवर्तन गरी भौतिक एमालेलाई दिएर आर्थिक मामिला मन्त्रालय लिएको थियो । उनले आर्थिक मामिला मन्त्री नै माग गरेका थिए । तर, उनलाई लामाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।आफूलाई सामाजिक विकास मन्त्रालय नियुक्त गरेको खबरपछि काफ्ले प्रदेशप्रमुख कार्यालयमै आएर मुख्यमन्त्री लामासँग असन्तुष्टि पोखेका थिए ।

३७ सांसद रहेको कांग्रेसबाट मन्त्रीका आकांक्षी मात्रै दुई दर्जनको संख्यामा रहेका छन् । महिला सांसदलाई मन्त्री नबनाए पछि लामा अर्को विवादमा तानिएका छन् । समिता खड्की, हरिप्रभा खड्की, सुना परियार, उर्मिला नेपाल, विनु रायमाझीलगायतका सांसदहरु मन्त्री बन्ने चर्चामा थिए । मन्त्रीको आकांक्षीमा दलका उपनेता रामकृष्ण चित्रकार, तीर्थ लामा, मसिना खड्काहरुले दोहोरिन चाहेका थिए भने सुरेश श्रेष्ठ, रामकुमार पहाडी र गोविन्द लम्साल पनि मन्त्रीको लाइनमै थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*