बागमतीमा ४ मन्त्रीले लिए शपथ, १३ मन्त्रालयमा १४ मन्त्री पु¥याइयो

साझाकुरा
२०८१ श्रावण १३, आईतवार १०:०९

हेटौंडा- बागमती प्रदेशमा कांग्रेसका तर्फबाट शनिवार ४ जना मन्त्रीले शपथ लिएका छन् । यसअघि एमालेका ६ जना र कांग्रेसका ३ जनाले ९ साउनमा सपथ लिइसकेका थिए ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन् । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरुको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर शनिबार शपथ गराइएको हो ।

उनले सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गीलाई नियुक्त गरेका छन् । सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।
बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिएका थिए । लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरि प्रभा पुगेकी हुन् । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो ।शुक्रबार गृह जिल्ला नुवाकोट पुगेका मुख्यमन्त्री लामा त्यस दिन राती नै हेटौंडा आएर शनिवार बिहानै ४ जना मन्त्रीको सपथको तयारी गरेका थिए । ९ साउनमा मुख्यमन्त्री नियुक्त भएपछि आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवादसहित गुनासा र सरकारसँगको अपेक्षा सोधपुछका लागि उनी शुक्रबार नुवाकोट पुगेका थिए । उनी कांग्रेसबाट मन्त्रीहरुलाई सपथ गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिएर मात्रै गृह जिल्ला जाने कार्यक्रम थियो । तर, कांग्रेसभित्रको विवादका कारण उनले बिहीवार साँझलाई तय गरिएको सपथ
रोकिएको थियो ।

बागमती प्रदेश सरकारमा बिहीवार चार जनालाई मुख्यमन्त्री लामाले गुपचुपमै मन्त्री नियुक्त गरेपछि कांग्रेसमा विवाद चर्किएको थियो । मुख्यमन्त्री लामाले यसअघि एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अमन कुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण प्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, किरण थापालाई स्वास्थ्य मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यससँगै बागमतीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । १३ वटा मन्त्रालय रहेको बागमतीमा लामाले १४ जना मन्त्री संख्या पु¥याए । आफै पार्टीभित्र आकांक्षी धेरै रहेकाले मन्त्री संख्या बढाउनु परेको लामाको भनाई छ । लामाले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि तत्काल मन्त्रालय नफुटाउने बताए । मुख्यमन्त्री कार्यालयमा नै जिम्मेवारी दिने गरी तयारी भएको उनले बताए । गठबन्धन दलमा केही विषयहरु मिलाउनु पर्ने भएकाले मन्त्रालय विभाजन गर्ने सहमति नबनेको उनले बताए ।

काठमाडौं उपत्यकाको मन्त्री धेरै
बागमतीको मन्त्रिपरिषद्मा काठमाडौं उपत्यकाको मन्त्री धेरै छ । उपत्यकाका ३ जिल्लाका मात्र ९ मन्त्री मुख्यमन्त्री लामाको क्याबिनेटमा मन्त्री बन्ने अवसर पाएका छन् ।१० निर्वाचन क्षेत्र रहेको काठमाडौँले मात्र ६ मन्त्री पाएको छ । उपत्यकाको ललितपुरले २ र भक्तपुरले १ मन्त्री पाएको छ । काठमाडौँबाट एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के मन्त्री बने भने कांग्रेसबाट श्याम खड्का, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, विमल ठकुरी मन्त्री बने । ललितपुरबाट एमालेका प्रेमभक्त महर्जन र कांग्रेसका मीनकृष्ण महर्जन मन्त्री बन्ने अवसर पाए भने भक्तपुरबाट एमालेका किरण थापा मन्त्री बने ।

१३ जिल्ला रहेको प्रदेशमा १३ मन्त्रालय रहेको छ । उक्त मन्त्रालयमा ७ जिल्लाका सांसदले मन्त्री हुने अवसर पाएका छन् । प्रदेश राजधानी रहेको मकवानपुर सहित रसुवा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोकले मन्त्री पाएनन् । कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले, धादिङका मदु कुमार श्रेष्ठ मन्त्री बने भने एमालेबाट सिन्धुलीकी सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवाल मन्त्री बने ।

यसमा तपाइको मत

Your email address will not be published.


*