बागमती प्रदेशको १८ महिना : दुई मुख्यमन्त्री, ३३ मन्त्री

प्रतिक्षा न्यौपाने
२०८१ श्रावण १५, मंगलवार ०९:०२

हेटौंडा- बागमती प्रदेश सरकारको १८ महिना अवधिमा ३३ जना सांसद मन्त्री बनेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलमा ६ वटा दलबाट ३३ जना मन्त्री बनेका हुन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा र हाम्रो नेपाली पार्टीबाट सरकारमा सहभागी भए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने सरकारमा गएको छैन । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो सरकार २५ पुस २०७९ मा गठन भएको थियो । नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बने । १८ महिना सरकार चलाएका उनले ६ साउनमा राजीनामा दिएसँगै नेकपा एमालेको समर्थनमा कांग्रेसबाट बहादुरसिं लामा ९ साउनमा मुख्यमन्त्री भए ।

प्रदेशको १९ महिनाको अवधिमा बागमतीले दुई मुख्यमन्त्री पायो । जम्कट्टेल र लामाले ३३ जना सांसदलाई मन्त्री बनाए । जसमा केही सांसद मन्त्री पदमा दोहोरिएका छन् । ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले आफू र एमालेका प्रकाश श्रेष्ठ बाहेक १२ जना नयाँ अनुहारलाई मन्त्री बनाए । २६ चैत ०७९ मा गठित जम्कट्टेल नेतृत्वको सरकारमा लामा आर्थिक मामिला तथा योजनामन्त्री थिए । माओवादीले एक वर्षपछि एमालेसँग सत्तासमिकरण गरेकाले लामा प्रतिपक्षमा पुगेर त्यसको ३ महिनामै मुख्यमन्त्री बनेर सरकारमा फर्किए ।

मुख्यमन्त्री लामाले कांग्रेसबाट ८ र एमालेका ६ जनालाई मन्त्री नियुक्त गरे । एमाले तर्फबाट सरकारमा दोहोरिएका प्रकाश श्रेष्ठलाई हाल कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । जम्कट्टेल सरकारमा उनी उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री थिए ।मुख्यमन्त्री लामाले एमालेबाटै अमनकुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्री, कृष्णप्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्री, सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र प्रेमभक्त महर्जनलाई श्रम,रोजगार तथा यातायात मन्त्रीको जिम्मेवारी दिए ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्का, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी र मदुकुमार श्रेष्ठले विना विभागीय मन्त्रीको जिम्मेवारी लिए । कांग्रेसबाट मन्त्री बनेका सबै नयाँ अनुहार हुन् ।

जम्कट्टेलले २१ सांसदलाई बनाए मन्त्री

१८ महिना मुख्यमन्त्री भएका शालिकराम जम्कट्टेल नयाँ सत्तासमीकरण नेपाली कांग्रेस र नेकपा एमालेको पोल्टामा पुगेपछि सरकारबाट बाहिरिए । २४ असार २०८१ मा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले ६ साउनमा राजीनामा दिए । उनले तीनपटक सरकार फेरबदल गर्दा नेमकिपा बाहेकका राजनीतिक दलबाट २१ जना सांसदलाई मन्त्री बनाए । तीनपटकसम्मै माओवादीका तीन मन्त्रीहरु श्रेष्ठ, दुलाल र मोक्तान भने यथावत रहे ।

जम्कट्टेलले ३ माघ २०७९ मा पहिलोपटक १०५ जना सांसद, एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक ६७ सांसद र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक ५६ सांसदको विश्वासको मत लिएर सरकार टिकाए ।बागमतीमा ११ वटा मन्त्रालय र मुख्यमन्त्रीसमेत गरेर १२ सदस्यीय मन्त्रिपरिषद रहेकोमा जम्कट्टेलले २ जेठ ०८१ मा १३ पु¥याए । पहिलोपटक २५ पुस २०७९ मा जम्कट्टेल मुख्यमन्त्री नियुक्त हुँदा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना र राप्रपाका उद्धव थापा खानेपानी, उर्जा तथा सिचाईं मन्त्री नियुक्त भएका थिए ।

जम्कट्टेलले ११ माघमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त गरे । एमालेबाट थप मन्त्रीहरु स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमा केशव पोख्रेल र श्रम, रोजगार तथा यातायात मन्त्रालयमा एकालाल श्रेष्ठ ११ माघमा नियुक्त भए । राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारीमन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बने ।

२ महिनामै सत्तागठबन्धन परिवर्तन भएपछि राप्रपाले १३ फागुनमा र एमालेले १० चैत ०७९ मा सरकारलाई दिएको समर्थन फिर्ता लिए । मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक २६ चैतमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थनको सरकार विस्तार गरे ।१० चैतमा ६७ सांसदको विश्वासको मत लिएपछि उनले कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा बहादुरसिं लामा र खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा तीर्थ लामालाई नियुक्त गरे । ७ जेठ ०८० मा कांग्रेसबाटै स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, रामकृष्ण चित्रकार विना विभागीय मन्त्री नियुक्त भए ।

सोही मितिमा एकीकृत समाजवादीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा डा.राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायात मन्त्रालयमा लक्ष्मण लम्साल मन्त्री बने । कांग्रेस संसदीय दलका उपनेता चित्रकारलाई साढे दुई महिनासम्म विना विभागीयमै राखेर मुख्यमन्त्री जम्कट्टेलले अन्ततः मन्त्रालय विभाजन गरेर उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मा दिए । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको थियो ।

मुख्यमन्त्री बनेसँगै जम्कट्टेलले पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बनाएको १४ वटा मन्त्रालयलाई गाभेर ११ वटामा झारेका थिए । चित्रकारलाई व्यवस्थापन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय पु¥याइएको थियो । जम्कट्टेलले तेस्रोपटक १५ चैत ०८० मा सरकार विस्तार गरे । त्यतिबेला ३ जना नयाँ अनुहार मन्त्री बने भने बाँकी सांसद पुनः सरकारमा फर्किए । हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनाएर जम्कट्टेलले बहुमत जुटाएका थिए ।

एमालेबाट १७ चैतमा आर्थिक मामिलामन्त्रीमा थपलिया, मंगलबारै रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र केशव पोख्रेल मन्त्रीमा दोहोरिए । एमालेबाट प्रकाश श्रेष्ठ उद्योग, प्रशासन मन्त्रीमा नयाँ अनुहार आएका थिए । एकीकृत समाजवादीबाट मन्त्री बनेकी रमा आलेमगर पनि नयाँ थिइन् । जम्कट्टेलले उनलाई २ जेठ ०८० को मन्त्रिपरिषद्बाट समाजिक विकास मन्त्रालय फुटाउने निर्णय गरेर युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*