मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

साझाकुरा
२०८१ श्रावण १५, मंगलवार ०९:१२

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।नेपाली कांग्रेस र एमालेको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउस ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

१५ साउनमा विश्वासको मत लिन उनले प्रदेशसभा सचिवालयलाई आइतबार पत्राचार गरेका छन् । उनले १२ साउन अर्थात् शनिवार मात्रै सरकारलाई पूर्णता दिए । मुख्यमन्त्री कार्यालय सहित १३ मन्त्रालय रहेकोमा उनले एक मन्त्री बढाएर मन्त्रिपरिषद्लाई १४ सदस्यीय बनाए । मधुकुमार श्रेष्ठ विनाविभागीय मन्त्री छन् ।कांग्रेसभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले मन्त्री थप गर्नुपरेको उनको भनाई छ ।
सरकार विस्तारका क्रममा कांग्रेसमा विवाद भएको थियो । कांग्रेसभित्र अझै विवाद समाधान भइनसकेको नेताहरु बताउँछन् । यस्तो बेला उनले छिट्टै विश्वासको मत लिने तयारी गरेका हुन् ।

११० सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७ सांसद छन् । सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक रहेको लामासँग कांग्रेस र एमालेका मात्रै ६४ सांसदको समर्थन रहेको छ ।विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १२ (सभामुख बाहेक), नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद छन् । यी पार्टीले लामालाई विश्वासको मत दिने वा नदिने बारे कुनै निर्णय गरिसकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*