थाहामा मेयर, प्रमुख प्रशासकीय र शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता

साझाकुरा
२०८१ श्रावण १५, मंगलवार ०९:३७

हेटौंडा- थाहा नगरपालिकामा आर्थिक वर्ष २०८१÷८२ का लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता भएको छ । सोमबार नगर कार्यपालिकाको सभाहलमा आयोजित एक कार्यक्रम बीच नगरप्रमुख विष्णु विष्ट र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीबीच कार्यसम्पादन करार सम्झौता भएको हो ।सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन तथा नियमावली, निजामती सेवा ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन र नेपाल सरकारद्वारा समयसमयमा जारी निर्देशन र परिपत्रहरुमा आधारित भई प्रमुख प्रशासकीय अधिकृतको हैसियतमा आर्थिक वर्षभरि सम्पादन गर्ने कार्यको सम्बन्धमा नगरप्रमुखसँग कार्यसम्पादन करार गरिएको थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए ।

थाहा नगरपालिकामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएसँगै प्रमुख प्रशासकीय अधिकृत र शाखाप्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शाखाप्रमुखहरु सहभागी कार्यक्रममा शाखाप्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृत गिरीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । सम्झौतामा हस्ताक्षरअघि शाखा प्रमुखहरुले आफू र आफ्नो शाखाबाट वर्षभरिमा सम्पादन हुने कार्यको बारेमा जानकारी गराउँदै करारपत्र वाचन गरेका थिए ।

नगरको संगठनात्मक संरचनाअनुसार शाखा तथा कार्यक्रम प्रमुखले कार्यसम्पादन करार गरेको नगरका प्रशासन महाशाखा प्रमुख नवीन खालिङले जानकारी दिए । थाहा नगरपालिकाको नगरसभाबाट पारित नीति, कार्यक्रम र बजेटको आधारमा शाखाहरुले तयार पारेको आव २०८१÷८२ को वार्षिक कार्ययोजना पनि सोमबार नै स्वीकृत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*