मुख्यमन्त्री लामाले पाए ६४ सांसदको विश्वासको मत

साझाकुरा
२०८१ श्रावण १६, बुधबार १२:०५

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेशसभाको बहुमत अर्थात ६४ सांसदको विश्वासको मत पाएका छन् ।प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका थिए । विश्वासको मत माग्दै लामाले वर्तमान सरकारले राजनीतिकस्थिरता र व्यवस्थालाई बलियो बनाउन काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सरकारका मन्त्रीहरुलाई अधिकतम समय हेटौंडामा रहेर काम गर्ने निर्देशित गरेको उनको भनाइ छ । संघीयता बलियो बनाउन संविधानको कार्यान्वयनका लागि संघीय सरकारसँग पहल गर्ने उनले बताए । समस्याका विषयमा छलफल गरेर प्रदेशको विकास र समृद्धिका लागि सबै दलसँग सहकार्य गर्ने मुख्यमन्त्री लामाले बताए । मुख्यमन्त्री लामाले माओवादीले आफूलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।प्रस्तावको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामाले विगतमा कांग्रेस प्रतिपक्षमा रहेर तत्कालीन शालिकराम जम्कट्टेललाई मत दिएको बताए । विगतमा मत हालेको आधारमा माओवादीलाई विश्वासको मत पैँचो बाँकी रहेको उनले बताए । पैँचो फिर्ता हुन्छ भन्नेमाआफू विश्वस्त रहेको उनको भनाइ थियो । विश्वासको मत नदिए ब्याज लाग्ने उनले बताए ।

११० सदस्यीय प्रदेशसभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । नेमकिपा तटस्थ बसेको छ । प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए ।

प्रस्तावमाथिको छलफलमा एमालेबाट जगन्नाथ थपलिया, नेपाली कांग्रेसबाट रामकृष्ण चित्रकार, नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल, राप्रपाबाट उद्धव थापा, एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल, नेमकिपाबाट सुरेन्द्रराज गोसाईंले धारणा राखेका थिए । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक १६ साउन १ बजेसम्मका लागि स्थगित गरेका छन् ।प्रदेशसभाको दोस्रो कार्यकालको १९ महिनामा लामाले लिएको विश्वासको मत चौथोपटक हो । यसअघिका मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले सत्तासमिकरण फेरबदल भइरहेका कारण २५ पुस २०७९ यता मात्रै तीन पटकसम्म विश्वासको मत लिएर सरकार टिकाएका थिए ।

जम्कट्टेलल ३ माघ २०७९ मा पहिलोपटक १०५ जना सांसद, एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक ६७ सांसद र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक ५६ सांसदको विश्वासको मत लिएका थिए ।जम्कट्टेलले ६ साउनमा राजीनामा दिएसँगै एमालेको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट लामा मुख्यमन्त्री बने । ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका लामाले ९ साउनमा प्रदेशप्रमुख यादवचन्द्र शर्माबाट सपथ लिए । त्यसको दुई दिनपछि मन्त्रिपरिषद्लाई पूर्णतादिए । प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसका मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको बागमतीमा १३ मन्त्री छन् । मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका विनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै रहने गरी जिम्मेवारी दिएका छन् ।यसैगरी, नवनियुक्त मुख्यमन्त्री लामा बागमतीका पाँचौं मुख्यमन्त्री हुन् । उनले मुख्यमन्त्री बनेसँगै कांग्रेसबाट बागमतीमा पहिलो र तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री हुनेमा नाम लेखाए । बागमती प्रदेशको ७ वर्षको अवधिमा हालसम्म पाँचजना मुख्यमन्त्री बनेका छन् । २०७४ देखि मंसिर २०७९ सम्मको पहिलो कार्यकालमा तीनजना र दोस्रो कालको हालसम्म प्रदेशले २ मुख्यमन्त्री पाइसकेको छ ।

पहिलो कार्यकालमा एमालेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य, नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बने ।माघ २०७४ मा देशका सात प्रदेशमध्ये बागमतीमा तत्कालीन नेकपाको नेतृत्वमा पहिलोपटक सरकार गठन भएको थियो । जसको नेतृत्व डोरमणि पौडेलले गरे । ४२ महिनाको सरकार नेकपा विभाजनका कारण ढल्यो र नेकपा एमालेलाई पनि विभाजनको सम्भावित क्षतिबाट रोक्न अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् । उनी तत्कालीन एमाले नेता माधवकुमार नेपाल पक्षकी थिइन् । केपी शर्मा ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर एमालेको विभाजन रोक्ने रणनीति लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*