काठमाडौंमा लुटपाट मच्चाउने मकवानपुरगढीका माइलाको समूह

साझाकुरा
२०८१ श्रावण १६, बुधबार १२:१०

हेटौंडा-काठमाडौंमा लुटपाट मच्चाउने समूहको नेतृत्व मकवानपुरगढी गाउँपालिका–१ फूलबारीका माइला भन्ने धनबहादुर स्याङ्तानले गरेको प्रहरीले जनाएको छ ।केही समयअघि काठमाडौंको चम्पादेवी मन्दिर क्षेत्रमा हाइकिङमा गएकाहरुलाई हतियार देखाएर एक समूहले लुटपाट गरेको घटनामा प्रहरीले स्याङतानलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । यो घटना असार १५ गतेको हो ।लालबहादुर खड्कासहित सात जनाको टोली असार १५ गते बिहानै हाइकिङमा गएका थिए । बिहान करिब साढे ६ बजेको हुँदो हो, एउटा समूहले खड्कासहितलाई हतियार देखाए, धम्क्याए, साथमा भएको मोबाइल लगायत सामान लुटेर त्यो समूह क्षणभरमै भाग्यो ।

लालबहादुरसहित हाइकिङमा गएको समूहलाई हतियारधारी समूहले कुटपिट र लुटपाट गरेका थिए । यो कुरा थाहा पाएर केहीबेरमा स्थानीय पनि चम्पादेवी मन्दिर क्षेत्र पुगे । स्थानीयले खिचेको भिडिओ पछि सामाजिक सञ्जाल फेसबुकमा भाइरल पनि भयो । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ५ स्थित चम्पादेवी मन्दिर हाइकिङ गर्ने स्थलको रुपमा चिनिन्छ ।घटनास्थलमा लुटेरा समूहले फालेको डोरीसमेत फेला परेको थियो । लुटेरा समूहले लालबहादुरसहित उनको समूहमा रहेकासँग रहेका ८ थान मोवाइल पनि लुटेका थिए । सामाजिक सञ्जालमा भिडिओ आएपछि र स्थानीय बासिन्दाले पनि असुरक्षा भएको जानकारी गराएपछि हाइकिङका लागि परिचित चम्पादेवीलगायत ठाउँमा काठमाडौं प्रहरीले उच्चनिगरानी बढाएको थियो । चम्पादेवी घटनालाई भने प्रहरीबृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको थियो ।

असार २८ गते फेरि यस्तै घटना घट्यो अर्को हाइकिङस्थल, काठमाडौंकै तारेभिरमा । बूढानीलकण्ठ नगरपालिका–३ तारेभिर जाँदै गरेका एक युवा र एक युवतीलाई चारजनाको समूहले नियन्त्रणमा लियो । यो बेलुकी ९ बजेतिरको घटना थियो । चारजनाको समूहले युवा र युवतीलाई बेलुकी ९ बजेतिर नियन्त्रणमा लिएर भोलिपल्ट बिहान ४ बजेतिर छाडेका थिए । यो समूहले दुवै जनालाई यातना दिएर युवतीमाथि जबरजस्ती करणीको उद्योगसमेत गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर यो समूहले बिहानपख मोवाइल लुटेको पाइएको छ । मोवाइल लुटेको समूह सोही क्षेत्रमा बसेका थिए । असार २९ गते बिहान करिब साढे १० बजेतिर बूढानीलकण्ठ नगरपालिका–३ शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बागद्वारमा दीपक शर्मासहित ६ जनाको टोली हाइकिङमा पुगेका थिए । चारजनाको समूहमा रहेको सोही लुटेरा समूहले शर्मासहितलाई हतियार देखाएर ६ वटा मोवाइल र दुइटा घडी लुटे ।

यही लुटेरा समूहले गिरिजा शान्ति पार्क क्षेत्रमा पुगेर दिनेश पोखरेलसहितबाट दुइटा मोवाइल र राति साढे ११ बजेतिर प्रवीण शेर्मा लिम्बूसमेतबाट दुइटा सुनको औंठी र सिक्री लुटेको खुलेको छ । तारेभिर क्षेत्रमै श्रृंखलावद्द लुटपाटको घटना भएपछि जिल्ला प्रहरी परिसरले काठमाडौंका सबै हाइकिङ क्षेत्रमा प्रहरी परिचालन गरेको थियो । तर, पनि लुटेरा समूह नियन्त्रणमा लिन सकेको थिएन ।प्रहरी परिचालन भए पनि लुटपाट रोकिएन । साउन १२ गते नागार्जुन नगरपालिका–७ स्थित कलंकीबाट कालु पाँडेको सालिक भएको ठाउँ जाने बाटोमा बिहान करिब ११ बजेतिर विन्दवासिनी जंगलमा लुटपाट भयो ।

बा ए–ए ०५३१ नम्बरको कारमा ६ जना घुम्न गएका थिए । लुटेरा समूहले जंगलको बाटोमा गाडी रोक्यो । खुकुरी देखाएर उनीहरुलाई धम्क्याए । उनीहरुले लगाएका सुनका औंठी, सिक्री, लकेट, ब्रासलेट लगायत ७ तोला ६४ लालको सुनका गहना र ४.७९ तोलाको चाँदीको ब्रासलेट र १३ हजार चार सय रुपैयाँ यो समूहले लुट्यो ।

लुटेरा समूहले गाडी नै रोकेर सुनलगायत नगद नै लुटेको जानकारी यसपालि भने प्रहरीले अलि छिट्टै थाहा पायो । यो सूचना पाएको जिल्ला प्रहरी परिसर काठमाडौंले नागार्जुनको स्युचाटारक्षेत्रमा चेकप्वाइन्ट राख्यो । त्यहीँ लुटेरा समूह आइपुग्यो । तीनजनासँगै रहेको खबर प्रहरीलाई थियो तर, स्युचाटार आइपुग्दा एकजना मात्रै थिए । लुटेरा समूहका ती व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो ।
मकवानपुरगढी गाउँपालिका–१ फूलबारीका ५२ वर्षीय माइला भन्ने धनबहादुर स्याङ्ताङलाई प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट दुइटा खुकुरी र विन्दवासिनी जंगलबाट लुटेका सुनका गरगहना र नगद बरामद भयो ।

साथै उनको साथबाट चम्पादेवीमा लुटिएको एउटा मोवाइल सेट पनि बरामद भएको थियो । एसपी नवराज अधिकारीका अनुसार माइला नै काठमाडौंका हाइकिङ क्षेत्रमा भइरहेका लुटपाटका घटनाका मुख्य योजनाकार हुन् ।उनकै समूहले गतवर्ष चैत २९ गते चन्द्रागिरि नगरपालिका–८ चाखेल देउराली टहरामा सञ्चालन गरिएको होटलमा एक लाख ७ हजार नगद र सुनका गहना चोरी गरी फरार भएको थियो । माइलाकी श्रीमतीको नाममा रहेको एनसेलको सिम भएको फोन पनि बरामद भएको थियो । माइला पक्राउ परे पनि हाइकिङ गर्ने ठाउँमा लुटपाट गर्ने अन्य व्यक्तिहरु खुलेको थिएन । तर, प्रहरीको केरकारपछि उनकै परिवारका सदस्यहरु पनि लुटपाटमा संलग्न रहेको खुलेको छ ।

को–को व्यक्ति लुटपाटमा संलग्न थिए भन्ने प्रहरीले नाम सार्वजनिक गरेको छैन । उनले छोरा, सालोलगायत आफ्नै परिवार र आफन्तसँग मिलेर हाइकिङ गएका मानिसको साथमा रहेका सामान र नगद लुट्ने गरेका थिए । ‘माइला भन्ने व्यक्ति नै लुटेरा समूहको मुख्य योजनाकार हुन् । उनीहरु धेरैजसो हाइकिङ गर्न आउने ठाउँमा पुगेर लुटपाट गर्थे,’ एसपी अधिकारीले भने, ‘लुटपाट गरिसकेपछि उनीहरुले लगाएको कपडा फुकालेर झोलामा हाल्ने र अर्कै लगाएर हिँड्ने रहेछन्।’

उनकाअनुसार माइला आपराधिक पृष्ठभूमिकै व्यक्ति हुन् । २०६९ जेठ ८ गते ललितपुरको खोकनामा रहेको बालगृहमा खुकुरी र पेस्तोल लगायत हतियार देखाएर माइलाको समूहले २ लाख ७६ हजार चोरी गरेका थिए । पीडितलाई जबरजस्ती करणीसमेत गरेको कसुरमा उनलाई पक्राउ गरेको थियो । त्यही वर्ष असार १७ गतेदेखि डाँका चोरी तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष ६ महिना २४ दिन नख्खु जेलमा बसेका थिए । उनी गत वर्ष माघ ११ गते मात्रै छुटेका थिए । प्रहरीले उनको समूहमा रहेका अन्य व्यक्तिहरुलाई खोजी गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*