बागमती प्रदेश लोकसेवा आयोगले कहिले पाउँछ अध्यक्ष ?

साझाकुरा
२०८१ श्रावण १६, बुधबार १२:१४

हेटौंडा- बागमती प्रदेश लोकसेवा आयोग अध्यक्षविहीन छ । तल्कालीन अध्यक्ष सुरेशमान श्रेष्ठले गत चैत ३ गते उमेरहदका कारण अवकाश लिएसँगै आयोगको अध्यक्ष पदरिक्त बनेको हो ।बागमती प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी राजु अर्यालले आयोग अध्यक्षविहीन हुँदा केही सेवा प्रवाहमा असहज भइरहेको बताए । कुनै निर्णय गर्न अध्यक्ष नै चाहिने अवस्था हुनेछ । आयोगको अध्यक्ष बन्नका लागि ऐनको दफा ५ (क) र (ख) अनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने र नियुक्ति हुँदाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने व्यवस्था छ ।

ऐनको दफा ५ (ग) अनुसार अध्यक्ष बन्न ४५ वर्ष र सदस्यको हकमा ३५ वर्ष पूरा भएको हुनुपर्ने छ भने (घ) अनुसार उच्च नैतिकचरित्र भएको योग्यता हुनुपर्ने व्यवस्था छ । प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको समितिबाट सिफारिस भएर नयाँ अध्यक्ष नियुक्त हुने प्रावधान भए पनि हालसम्म नियुक्त हुन सकेको छैन । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सभामुख भुवनकुमार पाठक र प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसबीच सहमति हुन नसकेपछि हालसम्म आयोगको अध्यक्ष नियुक्त हुन नसकेको हो ।

बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव गोविन्द बहादुर कार्कीका अनुसार मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलले समयमा नै सहमति जुटाएर नयाँ अध्यक्ष सिफारिस गर्न नसक्दा हाल प्रदेश लोकसेवा आयोग अध्यक्षविहीन बनेको हो । सरकार परिवर्तन भएकाले नियुक्तिको प्रक्रिया नयाँ ढंगले अगाडि बढ्न सक्ने र मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलबीच सहमति भए चाँडै पनि नियुक्त हुने बताइएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशसभाका सभामुख र प्रदेशसभाको विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले अध्यक्ष र सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने ऐनमा व्यवस्था छ । ऐनको दफा ३ मा व्यवस्था गरिएबमोजिम सिफारिस समितिले आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि निर्णय गरी सरकारलाई जानकारी गराउनेछ । सरकारले प्रदेश प्रमुखसमक्ष नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*