नवनियुक्त मन्त्रीहरु बधाई र ब्रिफिङमा ब्यस्त

साझाकुरा
२०८१ श्रावण १७, बिहीबार ११:३४

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश समितिले आफ्नो पार्टीबाट बागमती प्रदेश सरकारमा नियुक्त भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बधाई ज्ञापन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रीहरुलाई बधाई लिने र ब्रिफिङ लिने कार्यमा भ्याइनभ्याई छ । पार्टीले बुधबार बिहान प्रदेश राजधानी हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथ शुभकामना ज्ञापन गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेशसभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बागमतीका नवनियुक्त मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

पार्टी प्रदेशसभापति एवम् प्रदेशसभा सदस्य बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे । नवनियुक्त मन्त्रीहरुले कसरी प्रदेशको हितमा केन्द्रित भएर जनपक्षीय काम गर्नुपर्छ भन्नेबारेमा पार्टीले सुझावसमेत दिएको नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा पार्टी प्रदेशमहामन्त्री कन्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोल, जिल्ला सभापतिहरुको तर्फबाट मकवानपुरका सभापति बुद्ध लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मुख्यमन्त्री लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट प्रदेशबासीको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा लामासहित आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकासमन्त्री हरिप्रभा खड्की, खानेपानी, उर्जा तथा सिञ्चाईमन्त्री श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण श्रेष्ठ र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

बागमती प्रदेशका नयाँ मन्त्रीहरु अहिले सम्बन्धित मन्त्रालय र मातहतका कार्यालयको ब्रिफिङ लिन व्यस्त छन् । पुरानै ढर्रा अपनाएका नवनियुक्त मन्त्रीहरुले बहाली भएको भोलिपल्टदेखि ब्रिफिङ लिन थालेका हुन् । बधाई सँगसँगै मन्त्रालय र मातहतका कार्यालयको ब्रिफिङ लिइरहेका मन्त्रीहरु गृहजिल्ला दौडाहमा पनि भ्याएका छन् । कम भीडभाड भएको मौका छोपेर मन्त्रीहरु सम्बद्ध कर्मचारीसँग मन्त्रालयको वस्तुस्थिति बुझ्न व्यस्त छन् ।

मन्त्रालयमा हाजिर भएपछि मिठाइ र खादा, माला लिएर बधाई दिन आउनेहरु उत्तिकै छन् । नेता, कार्यकर्ता र आफन्तलाई मन्त्रीले ‘पहिला काम गर्न दिनुस्’ भन्न सकेका छैनन् । भेटघाटमै समय
बितिरहेको छ । मन्त्रीहरुले नियमित काम सुरु गर्न सकेका छैनन् । पालैपालो मन्त्री भेट्दै फोटो खिचाउने क्रम पनि चलिरहेको छ । बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको स्वागत तथा सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुर तथा जिल्ला बक्सिङ संघ मकवानपुर, जिल्लास्थित खेलसम्बद्ध निकायका नेतृत्वकर्ता, खेलाडीले स्वागत तथा सम्मान गरेका हुन् । युवा तथा खेलकुद मन्त्री महर्जनले आफू खेलकुदमै अनवरत् मिहेनत गर्दै आएको हुँदा सोही मन्त्रालयमा बसेर खेलकुदको विकासमा लाग्न मन्त्रालय छनोट गरेको बताएका छन् ।

खेलाडीले खेलकुदक्षेत्र बुझेको मन्त्री बागमती प्रदेशले पाएको भन्दै खुशी व्यक्त गरिरहेका छन् । खेलकुदमा चाहिने भन्दा अनावश्यक क्षेत्रमा बढी खर्च भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै खेलकुदको विकासमा मात्रै मितव्ययी ढंगले खर्च गर्ने प्रणाली स्थापित गर्न अनुरोध गरिरहेका छन् । पर्यटनमन्त्री ठकुरीले पर्यटनको सम्भावना प्रचुर भएको हुँदा त्यसको उजागरमा दिलोज्यान दिएर लाग्ने बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डे, बक्सिङ संघ जिल्लाका अध्यक्ष तथा अन्तराष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरे, उपाध्यक्ष उज्वल शर्मा भण्डारी, कराते संघ मकवानपुरका उपाध्यक्ष रुपक लामा, उसु जिल्ला अध्यक्ष ज्योतिरत्न बज्राचार्य, उसु प्रशिक्षक विमल थापामगर, बक्सिङ प्रशिक्षकद्वय लालबहादुर पौडेल, अनिल दाहाल, कराते प्रशिक्षक सविन ब्लोन, विष्णु श्रेष्ठ, ब्याडमिण्टनका सदस्य तथा खेलाडी नरेन्द्र मोक्तानलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*