एकैपटक मकवानपुरका चार न्यायाधीशको सरुवा
हेटौंडा-न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गर्दा हेटौंडास्थित उच्चअदालत पाटन हेटौंडा इजलाश र मकवानपुर जिल्ला अदालतका चारजना न्यायाधीश सरुवा भएका छन् प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले उच्चअदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो । चारजना सरुवा भएर जाँदा मकवानपुरमा तीनजना न्यायाधीश आएका छन् । उच्चअदालत पाटन हेटौंडा इजलाशबाट न्यायाधीशहरु मेरिना श्रेष्ठ र निर्मला शाक्य, मकवानपुर जिल्ला अदालतबाट महेन्द्रबहादुर कार्की र मनकुमारी जिएम विकको सरुवा भएको हो ।
श्रेष्ठ उच्चअदालत पोखरा र शाक्य उच्चअदालत जनकपुर बीरगञ्ज इजलाश पुगेका छन् । यसैगरी मकवानपुर जिल्ला अदालतका न्यायाधीश कार्की काठमाडौं जिल्ला अदालत र विक धादिङ जिल्ला अदालत सरुवा भएको हो । न्यायापरिषद्ले उच्चअदालत पाटन हेटौंडा इजलाशमा एकजना न्यायाधीशको मात्रै सरुवा गरेको छ । उच्चअदालत पोखराकी न्यायाधीश निर्मला पौडेल भट्टराई हेटौंडा आएकी हुन् ।
न्याय परिषद्ले धादिङ जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठ र काठमाडौं जिल्ला अदालतकी शकुन्तला कार्कीलाई मकवानपुर जिल्ला अदालत सरुवा गरेको हो । न्याय परिषद्ले देशभरका उच्चअदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरुवा गरेको हो । एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरुलाई सरुवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए ।
जनक पाण्डे पाटनबाट सुर्खेत सरुवा भएका छन् । पाटनकै श्यामजी प्रधान नेपालगञ्ज सरुवा भएका छन् । धीरबहादुर चन्द पाटनबाट राजविराज सरुवा भएका छन् । लेखनाथ पौडेल पाटनमा हाल काजमा रहेकामा पाटनमै रहने गरी सरुवा भएका छन् । बासुदेव आचार्य विराटनगरबाट बुटवल, मदन पोख्रेल बाग्लुङबाट सुर्खेत, ध्रुवराज नन्द पाटनबाट विराटनगर सरुवा भएका छन् ।
टंकप्रसाद गुरुङ नेपालगञ्जबाट पाटन, हरिप्रसाद पौडेल पाटनबाट वीरगञ्ज, रामबहादुर थापा विशेष अदालतबाट सुर्खेत, राज्यलक्ष्मी बज्राचार्य विराटनगरबाट सुर्खेत, विमल सुवेदी राजविराजबाट विराटनगर पुगेका छन्। ऋषि राजभण्डारी इलामबाट पाटन, सुदर्शनराज पाण्डे पाटनबाट पोखरा, दीपेन्द्र अधिकारी पाटनबाट बुटवल, राजुराम सिलवाल तुल्सीपुरबाट जनकपुर, रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरुवाभएका छन् ।
यस्तै, जगदीश घिमिरे जुम्लाबाट जनकपुर, हरिश्चन्द्र ढुंगाना र खडानन्द तिवारी वीरगञ्जबाट पाटन, काजीबहादुर राई सुर्खेतबाट इलाम, रितेन्द्र थापा विशेष अदालतबाट दिपायल, सूर्यप्रसाद पराजुली बुटवलबाट पाटन सरुवा भएका छन् । श्यामजी प्रधान राजस्व न्यायाधीकरण नेपालगञ्जको अध्यक्ष हुनेछन् । श्रम अदालतको अध्यक्ष पदमा सुर्खेत उच्चअदालतका न्यायाधीश जनक पाण्डे सिफारिस भएका छन् ।