मकवानपुर ट्राफिकद्वारा दुई करोड ८३ लाख राजस्व संकलन

साझाकुरा
२०८१ श्रावण १७, बिहीबार ११:४८

हेटौंडा- मकवानपुरमा गत आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट दुइ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आव २०८०÷८१ को एक वर्षको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट यो राजस्व संकलन भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरीनिरीक्षक केशव अधिकारीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ३७ हजार ९६० सवारी साधन कारबाहीबाट यो राजस्व असुल भएको हो । बितेको आर्थिक वर्ष २०७९÷८० मा ४७ हजार ८९९ सवारी कारवाहीबाट तीन करोड ६९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । तुलनात्मकरुपमा अघिल्लो आवको भन्दा गत आवमा सवारी कारवाही र राजस्व दुबै घटेको छ । ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने घटेकाले राजस्व संकलनमा पनि कमी आएको अधिकारीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिनाअनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठीक नभएका वा अवैध कागजात भएको, मादकपदार्थ सेवन गरी सवारी चलाउने लगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो । गत आवमा सबैभन्दा बढी असार महिनामा ३१ लाख २९ हजार ५०१ र कम साउन महिनामा १२ लाख १२ हजार राजस्व संकलन भएको छ । ट्राफिक कारवाहीमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर कारवाहीमा परेको तथ्यांक छ ।

गत आवमा २४५ सवारी दुर्घटनामा ५८ जनाले ज्यान गुमाए । ट्राफिकको तथ्यांक अनुसार जिल्लामा आव २०७७÷७८ मा ३ सय ५३ सवारी दुर्घटनामा ५९ जना, २०७८÷७९ मा ३ सय १७ सवारी दुर्घटनामा ७० जना र आव २०७९÷८० मा २ सय ५२ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका थिए । तुलनात्मक रुपमा अघिल्ला आवको भन्दा गत आवमा दुर्घटना र मृत्यु हुनेको संख्या घटेको छ ।गत आवमा दुई हजार पटक एक लाख ९६ हजार २९५ जनालाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरण गर्न गत आवमा विद्यार्थी, नयाँ चालक, व्यवसायी,सरकारी कर्मचारी लगायतलाई कक्षा सञ्चालन गरिनुका साथै सचेतनामूलक पर्चा, पम्प्लेट, स्टिकर टाँस र चालकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

ट्राफिक प्रहरीले आव २०७७÷७८ मा ३२ हजार २ सय ३९ सवारी कारवाहीबाट २ करोड ७१ लाख ६ हजार ५ सय, आव २०७८÷७९ मा ३० हजार ३ सय २७ सवारी कारवाहीबाट २ करोड ३६ लाख ९० हजार ५ सय र आव २०७९÷८० मा ४७ हजार ८ सय ९९ सवारी कारवाहीबाट ३ करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको तथ्यांक छ । गत आवको तुलनामा अघिल्ला आवको तथ्यांकलाई आधारमान्दा सवारी साधन कारवाही संख्या र राजस्व दुबै घटेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*