मकवानपुरका सात जना एमाले नेतालाई नयाँ जिम्मेवारी

साझाकुरा
२०८१ श्रावण १८, शुक्रबार ११:१०

हेटौंडा- नेकपा एमालेको काठमाडौंमा बिहीवार बसेको सचिवालय बैठकले मकवानपुरका सात जना पार्टी नेतालाई थप जिम्मेवारी तोकेको छ ।थप जिम्मेवारी पाउने नेतामा केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, सुवासचन्द्र ठकुरी, महेशकुमार बर्तौला, भारती पाठक र जुनेलीमाया श्रेष्ठ रहेका छन् । सचिवालय बैठकले कृषि तथा पशुपन्छी विभाग प्रमुखमा केदार न्यौपाने र केन्द्रीय सदस्य भारती पाठकलाई वन तथा वातावरण विभाग प्रमुखको जिम्मेवारी दिइएको पार्टीले जानकारी दिएको छ ।

यसैगरी, पार्टीको सल्लाहकार परिषद् सदस्यमा पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल र संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी मनोनित भएका छन् ।रामेश्वर रानालाई पार्टी जिल्ला इञ्चार्ज बनाएको छ । यसअघिका इञ्चार्ज देवी ज्ञवालीलाई चितवन जिल्लाको जिम्मेवारी दिइएको छ । पोलिटब्यूरो सदस्य रहेका ज्ञवाली भन्दा अगाडि जिल्ला इञ्चार्ज राना नै थिए । ज्ञवालीले पार्टी जिल्लाको एउटा अधिवेशन सम्पन्न गराए । सचिवालय बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर २ को इञ्चार्जमा केन्द्रीय सदस्य जुनेलीमाया श्रेष्ठलाई तोकेको छ ।

पार्टीले जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलालाई केन्द्रीय सदस्यमा मनोनित गरेकाथिए । बर्तौलालाई प्रतिनिधिसभा क्षेत्र नम्बर १ को जिम्मेवारी पनि दिइएको छ । बर्तौला यसअघि पार्टी बागमती प्रदेश कमिटीको उपसचिव थिए । सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको हो ।

बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख सचेतक बनाएको थियो । हाल उनी सत्तारुढ दलको तर्फबाट मुख्यसचेतक रहेका छन् । बर्तौलाले ४ मंसिर २०७९ मा भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गरेका थिए । खतिवडालाई पराजित गरेर संसदीय राजनीतिमा उदाएका बर्तौलाले पार्टीबाट निरन्तर जिम्मेवारी पाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*