मकवानपुरमा दुई सातामा १८ जनामा डेंगु

साझाकुरा
२०८१ श्रावण १८, शुक्रबार ११:१६

हेटौंडा- मकवानपुरमा डेंगुको जोखिम बढेको छ । चालु आर्थिक वर्षको दुई सातामा १८ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार साउन १६ गते बुधवारसम्म ८ पुरुष र १० महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा डेंगु संक्रमित भेटिएका छन् । यहाँ पुरुष ५ र महिला ९ सहित १४ जनामा डेगुं संक्रमण पुष्टि भइसकेकोछ ।

मकवानपुरगढी गाउँपालिकामा २ पुरुष र १ महिलासहित तीनजना तथा बकैया गाउँपालिकामा एकजना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । गत २४ घण्टामा हेटौंडामा एकजना डेंगु संक्रमित थपिएकाछन् ।

डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्ंयाकीमा यसले फूल पार्ने गर्दछ ।यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरु देखापर्ने लगायत लक्षण यसमा देखिन्छन् ।गत आर्थिक वर्ष २०८०÷८१ मा ८ सय ९१ जना डेंगुबाट प्रभावित भएकोमा ४ सय ५५ पुरुष र ४ सय ३६ महिला छन् । गत आवमा डेंगु संक्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*