हेटौंडाका रिजनसहित २२ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइयो

साझाकुरा
२०८१ श्रावण २१, सोमबार ११:५९

हेटौंडा-नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागीहुने नेपाली खेलाडीको नाम घोषणा गरेको छ ।आगामी सेप्टेम्बरमा क्यानडामा त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ । क्यानले हेटौंडाका फाष्ट बलर रिजन ढकालसमेत २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद र सोमपाल कामीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

यस्तै करण केसी, गुल्सन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि टोलीमा छन् । बागमती प्रदेशका तीव्रगतिका बलर रिजन ढकालले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै यसअघि राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । बायाँ हाते बलर हुँदा रिजनलाई नेपालले टोलीमा स्थान बनाउन थप सहज भएको हो ।

पछिल्लो प्रधानमन्त्री कपमा ९ खेलमा १५ विकेट लिएका ढकालको प्रदर्शनले उनलाई टिममा पारेको हो । हेटौंडाको हुप्रचौरमा क्रिकेट सिक्दै हुर्किएका ढकालले २५ माघ २०८० मा क्यानडासँगको एक दिवसीय क्रिकेटमा आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए । क्यानडासँगको खेलमा नेपालको राष्ट्रिय टिमबाट उनले डेब्यू गरेका थिए ।२४ वर्षीय ढकाल सन् २०१४ मा यु–१६ को राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा मकवानपुरले पाएको एउटा कोटामा छानिएका खेलाडी थिए । प्रशिक्षणमा राम्रो गरेपछि प्रशिक्षक बसन्त शाहीले उनलाई नेपालको यू–१६ टोलीमा राखेका हुन् ।

उमेर समूहको टोलीमा परेपछि उनको मिहेनतले राष्ट्रिय टिमसम्मको ढोका खोलिदिएको हो । थाइल्यान्डमा नेपालले एसीसी यू–१६ को उपाधि जित्दा उनले दुई खेल खेल्ने अवसर पाएका थिए । यसैगरी, क्यानले आइतबार बोलाएको बन्दप्रशिक्षणमा यसअघि आइसिसी टी–२० विश्वकप खेलेका केही खेलाडी एकदिवसीय टोलीमा छैनन् । सागर प्रतिश जिसी र अभिनास बोहरा बन्द प्रशिक्षणको टोलीमा छैनन् । यस्तै देव खनाल, रिजन ढकाल, भीम सार्की, आरिफ शेख, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द र अर्जुन साउद एकदिवसीय टोलीमा अटाएका हुन् । बाँकी खेलाडी टी–२० विश्वकप खेलेका खेलाडी छन् ।

नेपालले लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलुमैदानमा पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको यो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो । क्यानडामा हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । ओमानमा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ । अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*