मुख्यमन्त्री लामाले औंल्याए पर्यटन क्षेत्रमा भइरहेको फजुल खर्च

साझाकुरा
२०८१ श्रावण २७, आईतवार ११:१३

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पर्यटन क्षेत्रको नाममा फजुल खर्च भइरहेको औंल्याएका छन् । बागमती प्रदेशमा २०७४ देखि पर्यटन क्षेत्रमा व्यापक लगानी भइरहेको छ ।उनले पयर्टन क्षेत्रको नाममा फजुल खर्च गरेर विगतका प्रदेश सरकारले गल्ती गरेको पनि घुमाउरोसँग भने । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटनक्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताएका हुन् । पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गर्न प्रदेश सरकारले विशेष ध्यान दिने उनको भनाइ थियो ।

२०७४ पछि बनेको बागमती सरकारले भ्यूटावरको नाममा ३० करोड भन्दा बढी लगानी गरेको थियो । लगानीअनुसारको प्रतिफल भ्यूटावरले दिन सकेको थिएन् । सञ्चालन कार्यविधि नै नबनाई भ्यूटावर निर्माण गरिएको थियो । उक्त कार्यविधिअनुसार भ्यू टावर अझै सञ्चालनमा आउन सकेको छैन् । निर्माण भइसकेका भ्यूटावर पनि अलपत्र भएर बसेका छन् । मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, धादिङ, सिन्धुलीलगायतका जिल्लामा भ्यूटावर निर्माण भएका थिए ।

मुख्यमन्त्री लामाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रभावकारी ढंगले लागिपर्ने बताए । ‘पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न बागमती प्रदेश सरकार तयार छ । बागगमती प्रदेशले पर्यटन प्रवद्र्धनका लागि यस अघि जुन लगानी गरेको छ त्यो फजुलमा गरेको हामीले देख्यौँ । मन्दिर, गुम्बा छरिएर बनाएको छ । सबै ठाउँमा छरेर बनाएर पर्यटक आउँदैनन् । अर्को डाँडामा टावर बनाएको छ,’ मुख्यमन्त्री लामाले भने ।

‘टावर कहाँ बनाउने, मन्दिरहरु कहाँ–कहाँ बनाउने भन्नेकुरा फरक छ । हाम्रो समाजलाई पनि सुद्धिकरण गरेर पर्यटकलाई आकर्षित गर्ने कम्तिमा पनि २÷३ दिन घुम्ने ठाउँ चाहियो ।,’ लामाले थपे । नेपालमा धार्मिक पर्यटकलाई पनि आकर्सित गर्न सक्नुपर्ने मुख्यमन्त्री लामाले बताए । ‘पशुपतीमा धार्मिक पर्यटकको दृष्टिले आउँछन्, हरेक क्षेत्रको पर्यटकलाई आकर्षण दिने काम गर्नुपर्दछ । त्यसो गर्न सकियो भने हामी सफल हुनसक्छौं । हामी व्यवसायीको पक्षमा छौं । व्यवसायीको समस्या हामीलाई थाहा छ,’ उनले भने । मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्न समाजलाई समेत सचेत गराउन आवश्यक रहेको औंल्याए ।

यसैगरी, मुख्यमन्त्री लामाले चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन् । ३० औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषा साहित्यमा धनी समुदाय भएर पनि यसको संरक्षण हुन नसक्दा भाषा लोप हुने अवस्थामा आइपुगेको बताए ।

एउटा समुदायको भाषा अर्को समुदायले प्रस्ट नबुझ्दा कतिपय नामथर र स्थानको नाम बिग्रिएको बताउँदै उनले त्यसका लागि आदिवासी जनजातिका भाषा गैर आदिवासी जनजातिलाई पनि बुझाउन आवश्यक रहेको बताए । नारायणी कला मन्दिरमा भएको कार्यक्रममा चितवनका विभिन्न जातजातिले आ–आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए । महासंघका अध्यक्ष महेन्द्र दुराका अनुसार विसं २०५५ मा स्थापना भएको महासंघमा हाल १७ जाति सांगठनिक रुपमा आबद्ध भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*