सरकारले देशलाई विकास र सुशासनको दिशामा लैजान्छः सांसद बर्तौला

साझाकुरा
२०८१ श्रावण २७, आईतवार ११:१८

हेटौंडा- मकवानपुरका प्रतिनिधिसभा सदस्य तथा सत्तारुढ दल नेकपा एमालेका मुख्य सचतेक महेश बर्तौलाले वर्तमान सरकारले राष्ट्रलाई विकास र सुशासनको दिशामा लैजाने बताएका छन् । बर्तौलाले सामाजिक न्याय र समृद्धिको पथमा मुलुकलाई अघि बढाउनकै लागि वर्तमान सरकार बनेको बताए ।

अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको आयोजनामा भएको युवा र विद्यार्थी कार्यशाला कार्यक्रममा बोल्दै उनले सरकारले युवाहरुलाई स्वदेशमै रहेर काम गर्ने वातावरण सिर्जना गर्ने दाबी गरे । नेपाली युवाहरुको विदेश पलायनलाई रोक्ने र विदेशमा भएकाहरु पनि स्वदेशमै आउने परिस्थिति सिर्जना गर्ने संकल्प ओली नेतृत्वको सरकारले लिएको उनको भनाई छ ।

बर्तौलाले युवाहरुको लागि सरकारले वित्तीय साक्षरता मात्र नभई वित्तीय पहुँचको सुनिश्चित्ता गर्ने नीति अख्तियार गर्ने समेत बताए । मुलुकको रुपान्तरण गर्न युवाले पनि भुमिका खेल्नुपर्ने उनको भनाई छ । अहिलेको पुस्ता अधिकार प्राप्तिको लागि लड्न नपर्ने बताउँदै उनले विगतमा अग्रजहरुको योगदानबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै मुलुक निर्माणको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उल्लेख गरे ।

राष्ट्र र समाजको विकासको लागि युवाहरुले ब्यक्तिवादी चिन्तन त्याग्नुपर्ने उनको भनाई छ । स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसका सभापति अभि मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरि दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*