बागमती प्रदेश सरकारको खर्च प्रणाली सुधारोन्मुख

साझाकुरा
२०८१ श्रावण २९, मंगलवार १२:२०

हेटौंडा-मुलुक प्रादेशिक संरचनामा गएपछि बागमती प्रदेश सरकारले बिनियोजन गरेको बजेट खर्च गर्ने क्षमतामा पछिल्ला वर्ष सुधार आएको छ । विगतका आर्थिक वर्षहरुमा मुस्किलले ६५ प्रतिशत वित्तीय प्रगति गर्ने बागमती सरकारको खर्च प्रणालीमा थोरै सुधार देखिएको हो ।प्रदेश गठन भएदेखि नै बजेट कार्यान्वयन सुस्त देखिएको बजेट खर्च गत आर्थिक वर्षमा थोरै सुधार आएर ७२ प्रतिशतभन्दा बढी खर्च गर्न सक्षम भएको देखिएको छ । यसअघिका हरेक वर्ष प्रदेश सरकारको करिब ४० प्रतिशत बजेट फ्रिज हुँदै आएको थियो । विगत ७ वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढी ७२ प्रतिशत बजेट खर्च गरेको पाइएको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म प्रदेश सरकारको कुल बजेट खर्च ७२ दशमलव ३ प्रतिशत भएको छ । पछिल्लो समय १ महिना निरन्तर एउटै सरकारले काम गर्ने अवसर पाउँदा बजेट खर्च बढेको विश्लेषण गरिएको छ । प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार विगत ५ वर्षको तथ्यांक हेर्दा प्रदेश सरकारको बजेट खर्च सुधारोन्मुख देखिएको छ । विगतका वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा प्रदेश सरकारले सबैभन्दा बढी बजेट खर्च गरेको उनले बताए ।

ठुलो आकारको बजेट र महत्वाकांक्षी योजना अघि सारेपनि सरकार आफैंले बनाएको योजना कार्यान्वयनमा समस्या भोग्दै आएको थियो । जसका कारण बजेट खर्चको प्रगति अपेक्षाकृत हुन सकेन । बागमती सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा पुँजीगततर्फ ७९.४७ प्रतिशत, चालुतर्फ ६५.१४ प्रतिशत खर्च गरेको प्रदेश
लेखा नियन्त्रक कार्यालय हेटौंडाले जनाएको छ ।

राजनीतिक, प्रशासनिक तथा योजना छनोट र कार्यान्वयनको नीतिले बजेट खर्च बढेको प्रदेश लेखा नियन्त्रक उपाध्यायले बताए । प्रदेश सरकारले योजना कार्यान्वयनमा ५ वर्षे नीति लिएसँगै योजना छनोट र बजेट विनियोजन प्रणालीमा केही सुधार आएकाले त्यसको प्रभाव बजेट खर्चमा देखिएको उपाध्यायको भनाइ छ । प्रदेशका १३ मन्त्रालय र मातहतका निकायले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये ४५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक उपाध्यायले जानकारी दिएका छन् ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७९÷८० कोतुलनामा ६.२३ प्रतिशत बढी बजेट खर्च गरेको हो । आर्थिक वर्ष २०७९÷८० मा कुल विनियोजित बजेटको ६६.०६ प्रतिशत बजेट खर्च गरेको थियो । सबैभन्दा बढी अंकको बजेट ल्याएको आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको खर्च ६६.०६ प्रतिशत मात्र थियो । यो आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको बागमती सरकारले ४६ अर्ब ८६ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा प्रदेशको कुल बजेटको ६५.८३ प्रतिशत खर्च हुँदा ३४.१७ प्रतिशत बजेट फ्रिज भएको थियो । यो आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याइएको प्रदेश सरकारले जम्मा ३७ अर्ब ९९ करोड ४९ लाख ४६ हजार रुपैयाँ खर्च गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारले ६९ प्रतिशत खर्च गरेको थियो । यो आर्थिक वर्षमा प्रदेशले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकोमा ३५ अर्ब ५९ करोड ४८ लाख ४१ हजार ५०१ रुपैयाँ खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा पनि बागमती प्रदेश सरकारले बजेट खर्च सोचेअनुरुप गर्न सकेन । यो वर्ष कुल बजेटको जम्मा ५८.७१ प्रतिशत खर्च भएको थियो भने ४१.२९ प्रतिशत बजेट फ्रिज भएको थियो । प्रदेश सरकारले २०७६÷७७ मा ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको विनियोजित बजेटमध्ये २७ अर्ब ९५ करोड ८ लाख ७० हजार ४६९ रुपैयाँ खर्च गरेको थियो । बागमती सरकारको पहिलो आर्थिक वर्ष २०७५÷७६ मा ल्याएको बजेटको जम्मा ६० प्रतिशतमात्र खर्च भएको थियो ।

अर्थतन्त्रका जानकार तथा तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलका सल्लाहकार डीपी ढकालका अनुसार सरकारले लिएका नीति र योजना कार्यान्वयनको पूरा अवसर प्राप्त भएकाले बजेट खर्चमा सुधार आएको हो । १८ महिनासम्म सरकार स्थिर रहेकाले मन्त्रीहरुले गर्नुपर्ने काम प्रभावकारी भएकाले बजेट खर्चमा सुधार भएको ढकालको भनाइ छ ।प्रदेश सरकारका कार्ययोजना, समयसीमा र जिम्मेवारीका बारेमा नेतृत्वकर्ताले गरेको कार्यसम्पादन सम्झौता तथा अनुगमनले बजेट खर्चमा सुधार आएको ढकालले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*