हेटौंडा खानेपानी बोर्डको वार्षिक आय १९ करोड

 भानुभक्त आचार्य
२०८१ श्रावण ३०, बुधबार १३:१७

हेटौंडा- हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षमा १९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । बोर्डले ग्राहकबाट पानी महशुल संकलनलगायत समग्र आन्तरिक आम्दानी लक्ष्यअनुसार संकलन गर्न सफल भएको हो ।२०८१ असार मसान्तसम्म पानी महशुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निबेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ १०२.७५ प्रतिशत अर्थात १५ करोड ४ लाख ३६ हजार रुपैयाँ संकलन गरेका छ । बोर्डले बाह्य आम्दानीतर्फ हेटौंडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकासँगको सहयकार्यअन्तर्गत १ करोड ७९ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको बोर्डका अध्यक्ष प्रताप बिष्टले बताएका छन् । बोर्डको बैंक मौज्दात २ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

हेटौंडा उपमहानगरभित्रको वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पूरै भूभाग, वडा नंं १, ३ र १७ को केही भूभाग र वडा नंं. १५, १६, १८ र १९ को ७०% प्रतिशत भूभागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई दैनिक सरदर ७ देखि ८ घण्टा ३ करोड ५७ लाख लिटर खानेपानी उत्पादन गरी २७ हजार ७ सय २१ वटा धारामार्फत वितरण गरिरहेको अध्यक्ष बिष्टले जानकारी दिए । हेटौंडाको मुख्य नगरक्षेत्रमा बोर्डले २४ सैं घण्टा पानी वितरण गर्न सफल भएको बिष्ट बताउँछन् । नगरक्षेत्रको वडा नं. ११, १२ र १३ मा उपभोक्ता समितिबाट खानेपानीको सेवाप्रवाह हुँदै आएको छ ।

नगरक्षेत्रभित्र बसोबास गर्ने नगरवासीलाई स्वच्छ र सर्वसुलभ किसिमबाट गुणस्तरीय रुपमा एउटै शुल्कमा खानेपानी उपलब्ध गराउनु हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको उद्देश्य रहेको अध्यक्ष बिष्टले बताए । बोर्ड संचालनमा आएदेखि हालसम्म बोर्डमा १६ वटा उपभोक्ता समिति हस्तान्तरण तथा सेवाक्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्यामा बृद्धि भएको छ । हेटौंडा उपमहानगरपालिकाले नगरबासीलाई राहत दिने उद्देश्यले न्यूनतम खानेपानी महशुलमा १० हजार लिटरसम्म खपतमा छुटको व्यवस्था गरेसँगै खानेपानी बोर्डमा उपभोक्ता समिति हस्तान्तरण हुनेक्रम बढेको छ । बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरी सेवाक्षेत्रमा सुधार गर्दै नयाँ क्षेत्रमा नयाँ आयोजनाको थालनी गरिरहेको छ ।

आ.व. २०८०÷८१ को नीति तथा कार्यक्रममा उल्लेख गरिएका योजना सम्पन्न गरिएको छ । बोर्डबाट प्रतिदिन ३ करोड ५० लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७७२१ धारामार्फत वितरण गर्दे आइरहेको छ । हाल हेटौंडाको मुख्य नगरक्षेत्रभित्र २४ सैं घण्टा पानी वितरण गर्न बोर्ड सफल भएको छ । नगरक्षेत्रभित्र वडा नंं. ४, ५, ६, ७, १४ र १५ मा करिब ५४ लाख ७४ हजारको लागतमा २३ हजार ४ सय मिटर पाइपलाइन विस्तारकार्य वोलपत्रको माध्यमबाट सम्पन्न गरिएको अध्यक्ष बिष्टले बताए । विभिन्न साइजको करिब १ लाख ४ हजार मिटर १ करोड १८ लाख बराबरको पाइप बोलपत्रको माध्यमबाट खरिद गरिएको छ ।

हेटौंडा–८ मैदाटोलमा सशस्त्र प्रहरी बलको कम्पाउण्डभित्र समवेल निर्माण गरी प्रतिमिनेट १२ सय लिटर पानी उत्पादन गरीवितरण गरिएको र मकवानपुरगढी गाउपालिका–४ स्थित सामरीपुल नजिकै प्रतिदिन ६० लाख लिटर पानी उत्पादन क्षमताको समवेल निर्माण गरी पानी वितरण गरिएको अध्यक्ष बिष्टले बताए । हेटौंडा–१६ हटियामा शक्तिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिअन्तर्गत रहेको खानेपानीको स्रोत, पानी भण्डारण टंकी सहित ५५७ वटा धारा बोर्डमा हस्तान्तरण गरियो । शक्तिखोलामा पानीको स्रोत पर्याप्त भएकाले सेही पानी हटियाको चिसापानीमा ल्याएर वडा नंं १५, १६, १७ र १८ सम्म वितरण गर्न सकिने सम्भावना देखिएको अध्यक्ष बिष्ट बताउँछन् ।

हेटौंडा–१७ हटिया चिसापानीमा २०८० कार्तिक १६ गतेदेखि शाखा कार्यालय संचालनमा ल्याएर नियमित महशुल संकलन, नयाँ धारा जडानलगायत आवश्यक मर्मतसम्भार कार्य शाखा कार्यालय मार्फत गराउदै आइरहेको र यो क्षेत्रका सेवाग्राहीलाई चिसापानीमा शाखा कार्यालय स्थापना भएपछि धेरै सहज भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपाने बताउँछन् । उपमहानगरको कार्यालय अगाडि र हेटौंडा–१ स्थित जिम पार्कमा सार्वजनिक धारा निर्माण गरिएको छ । बोर्डको सेवाक्षेत्रभित्र करिब १९ हजार मिटर पाइपलाइन सुधार तथा विस्तारको लागि बोलपत्रको माध्यमबाट टफ विल्डर्स एण्ड सप्लायर्स, चन्द्रागिरी, काठमाडौंले कार्य सम्पन्न गरेको सूचना अधिकारी न्यौपानेले बताए ।

संघीय सरकारको खानेपानी विभागबाट सिमलटार, रातोमाटे, हटिया परियोजनाअन्तर्गत करिब ८४ करोड रुपैयाँको डीपीआर तयार भई खानेपानी मन्त्रालयबाट स्रोत सुनिश्चताको लागि अर्थ मन्त्रालयमा पेश भएमा हालसम्म स्रोत सुनिश्चता नभएको सूचनाअधिकारी न्यौपानेले बताए । पानी परीक्षण प्रयोगशालाको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, बोर्ड अन्तर्गत रहेका खानेपानीका पूर्वाधारको सुधार र विस्तारको कार्य, खानेपानीका स्रोतको सुरक्षा एवम् संरक्षण कार्य, बोर्डको सेवाक्षेत्रभित्र २ स्थानमा डिप ट्यूवेल निर्माण, पानी पुनर्भरण (रिचार्ज) पोखरी स्थानीय तह र सामुदायिक वनसँगको सहकार्यमा निर्माण कार्य गरिएको बताइएको छ ।

आ.व. ०८०÷८१ को असार मसान्तसम्मको बिलिङ रकम १३ करोड ९७ लाख रुपैयाँमध्ये १३ करोड ५८ लाख २५ हजार अर्थात ९७.२२% पानी महशुल उठाउन बोर्ड सफल भएको सूचना अधिकारी न्यौपानेले बताए । आ.व. २०८०÷८१ को अन्त्यसम्ममा पानी महशुल वक्यौक्ता रकम ३९ लाख ४२ हजार रुपैयाँ रहेकोमा र बोर्डप्रति विश्वास गरी ग्राहकबाट ६४ लाख ५७ हजार रुपैयाँ अग्रिम महशुल भुक्तानी भएको न्यौपानेले बताए । बोर्डको खर्चतर्फ २०८०÷८१ मा कार्यालय संचालनतर्फ ५ करोड ७६ लाख ३६ हजार रुपैयाँ र सेवा संचालनतर्फ ३ करोड ८७ लाख १ रुपैयाँ भएको न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*