आन्दोलनरत् व्यवसायीसँग वार्ता राखेपछि विशेष नगरसभाको माग

भानुभक्त आचार्य
२०८१ श्रावण ३१, बिहीबार ०९:४०

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले करको दरवृद्धि गरेको विषयमा व्यावसायिक संघसंस्थाहरु आन्दोलनमा छन् ।आन्दोलनरत् व्यवसायीले करवृद्धिको निर्णय फिर्ता लिनुपर्ने माग अघि सारेका छन् । यसै सन्दर्भमा हेटौंडा उपमहानगरपालिकाले बुधवार पत्र काटेर आन्दोलनको नेतृत्व गरिरहेको मकवानपुर उद्योग वाणिज्य संघलाई वार्तामा आउन आग्रह गरेको छ । यता, हेटौंडा उपमहानगरपालिकाको नगरसभामा बहुमत रहेको नेकपा एमालेका बहुमत सदस्यले विशेष नगरसभा बोलाउन माग गरेका छन् ।

उपमहानगरपालिकाले व्यवसायीलाई वार्तामा बोलाएर समस्या समाधानको पहल लिँदा बहुमत सदस्यले कानुनी व्यवस्थालाई टेकेर विशेष नगरसभा बोलाउन माग गर्दा थप अन्यौलता देखिएको छ । आन्दोलनमा रहेका व्यवसायीलाई ३२ साउन बिहान ८ बजे वार्तामा उपस्थित हुन उपमहानगरपालिकाले बुधवार मात्रै पत्र काटेको छ । उपमहानगरपालिकाले मउवा संघबाट ५ जना प्रतिनिधि उपस्थित हुन आग्रह गरेको छ । तर, उपमहानगरपालिका वार्ता कि विशेष नगरसभा भन्नेमा अन्यौलमा परेको हो ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले व्यवसायीलाई वार्तामा बोलाइसकेपछि एमालेका सदस्यहरुले विशेष नगरसभा माग गरेकाले थप अन्यौलता भएको बताए । ‘विशेष नगरसभा बोलाउन कानुनी रुपले पाइन्छ । तर, समस्या समाधानका लागि वार्ता गर्न लागेको अवस्थामा विशेष नगरसभा माग भएकाले अब कसरी जाने भन्ने अन्यौल भएको छ,’ उनले भने । प्रवक्ता न्यौपानेले एउटा नगरसभा सञ्चालन गर्दा २० लाख रुपैयाँ खर्च आउने भन्दै यसलाई वार्ताबाटै समाधान गर्नु उपयुक्त माध्यम रहेको बताए ।

नेकपा एमालेबाट निर्वाचित ९ जना वडाअध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ३१ जना नगरसभासदस्य गरी ४८ जना (बहुमत) नगरसभा सदस्यले नगरप्रमुख मीनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन बुधवार माग गरेका हुन् । हेटौंडा उपमहानगरका कुल ९४ जना नगरसभा सदस्यमध्ये एमालेकै ५४ जना छन् । जसमध्ये ४८ जनाले विशेष नगरसभा बोलाउने सम्बन्धीको मागपत्रमा हस्ताक्षर गरेका छन् ।
नगरप्रमुख लामा भने काठमाडौंमा छिन् । एमालेका नगरसभासदस्यले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत् लामा समक्ष विशेष नगरसभा बोलाउन माग गरेका हुन् । २०७४ यता हेटौंडामा पहिलोपटक विशेष नगरसभा बोलाउन माग भएको छ । नेपालको संविधानको धारा २२२ देखि २२७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३, बागमती प्रदेशको गाउँ, नगर, जिल्लासभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ३ उपदफा ३ र दफा २३ को (ग), (घ), (ञ) र(ट) तथा उपमहानगरको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ बमोजिम विशेष नगरसभा बैठक बोलाउन माग गरिएको पत्रमा उल्लेख छ ।

करवृद्धिको विरोधमा विगत १० दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका दुई दर्जन विषयगत व्यावसायिक संघसंस्था चरणबद्ध आन्दोलनमा छन् । बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीले उपमहानगरपालिका कार्यालयमा धर्ना दिएका थिए ।हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले अस्वभाविक करवृद्धि गरिएकोले नगरबासीमा असन्तुष्टि देखापरेको विषयलाई सम्बोधन गर्न आर्थिक ऐनमा व्यवस्था भएको करको दर र दस्तुर संशोधनका लागि विशेष नगरसभा आव्हानको माग गरिएको बताए । उनका अनुसार नगरप्रमुख लामाले १५ दिनभित्र विशेष नगरसभा बोलाउनुपर्ने कानुनी व्यवस्था छ ।

उनले असारको पहिलो हप्तामा भएको १५ औं नगरसभामा करवृद्धिसम्बन्धी प्रस्ताव छलफलमै नल्याई गुपचुपमा पास गराइएको दाबी गरे । करको दर हेरफेर जस्तो संवेदनशील विषयमाथि सरोकारवाला निकायसँग आवश्यक छलफल र नगरसभामा प्रस्ताव नल्याई पास गरिनुले नेतृत्वको गैरजिम्मेवारी र लाचारीपन भएको आरोप लगाए । ‘नगरसभाबाट पास हुने विषयमा ध्यान नदिनु हाम्रो पनि कमजोरी हो । करवृद्धिसम्बन्धी डकुमेन्ट नगरसभामा बाँडिएको छैन । तर, घटनाक्रमले मुद्दा उठान भएपछि हामीले पहलकदमी लिनुपर्छ भनेर विशेष नगरसभा बोलाउन माग गरिएको हो,’ सिग्देलले भने, ‘यस विषयमा छलफल गर्न खोज्दा मेयर र उपमेयर सम्पर्कमै आएका छैनन् ।’

उपप्रमुख बानियाँ संयोजक रहने राजश्व परामर्श समितिमा एमालेकै तीनजना वडाअध्यक्ष दीपक खड्का, सुनिल मोक्तान र जुना दाहाल सदस्य छन् । तीनजना वडाध्यक्षले राजश्व परामर्श समितिको बैठकमा करको दायरा बढाउने विषयमा मात्रै छलफल भएको तर, नगरसभाबाट अस्वभाविक रुपमा करवृद्धि गरिएको बताए । उपप्रमुख बानियाँले करवृद्धिको निर्णयको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको उनको भनाई छ ।

७ असारमा भएको उपमहानगरको १५ औं नगरसभाबाट राजश्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को लागि वहालकरदेखि व्यवसायकरमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो । व्यवसायीले बिहीबार पनि हेटौंडा उपमहानगरपालिकामा धर्ना दिने र नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने कार्यक्रम तय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*