बालमैत्री घोषणाको तयारीमा ७ नम्बर वडा कार्यालय

साझाकुरा
२०८१ श्रावण ३१, बिहीबार १०:०२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कार्यालय बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अन्तिम तयारीमा रहेको छ ।१ भदौमा यस वडालाई औपचारिकरुपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । मंगलबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष दामोदर गौतमले १ गते शनिवार हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री वडा घोषणा गरिने जानकारी दिए । वडाध्यक्ष गौतमका अनुसार नेपाल सरकारले तोकेका ५१ वटा सूचक पूरा गर्नुपर्ने थियो ।

यी सूचकमध्ये ४६ वटा सूचक शतप्रतिशत पूरा भएका छन् भने बाँकी ५ वटा सूचक आवश्यक न्यूनतम मात्रामा पूरा भएका छन् । वडाले बालमैत्री स्थानीय शासनका लागि आवश्यक सबै मापदण्ड पूरा गरेको उनले जानकारी दिए । वडाध्यक्ष गौतमले बालमैत्री स्थानीय शासन घोषणाका लागि वडाले पाँच प्रमुख क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । यी क्षेत्रमा बालबचाउ, बालसंरक्षण, बालविकास, बालसहभागिता र संस्थागत विकास पर्दछन् ।

बालसंरक्षणको क्षेत्रमा विशेष ध्यान दिइएको छ, जसमा बालविवाह, बालश्रम र बालदुब्र्यवहार विरुद्ध अभियान चलाइएका छन् । विद्यालय र समुदायमा यी विषयमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिएका छन् । वडाध्यक्ष गौतमले बालबालिकाको महत्वबारे आफ्नो दृष्टिकोण व्यक्त गर्दै भने, ‘बालबालिकालाई भोलिका कर्णधार मात्र नभई आजैका साझेदारको रुपमा विकास गर्न हामी प्रयत्नशील छौं’ उनले बालमैत्री वडा घोषणापछि पनि यसको दिगोपनाका लागि निरन्तर काम गर्ने प्रतिवद्धता जनाए ।

वडाले २०८० वैशाख २५ गते पूर्णखोप, २०७३ भादौ ३० गते पूर्ण साक्षरता र २०६७ चैत्र २१ गते खुल्ला दिसामुक्त वडा घोषणा गरिसकेको वडाध्यक्ष गौतमले जानकारी दिए । हेटौडा उपमहानगरको वडा नं ७ मा १८ वर्ष मुनिका १८ सय ९८ बालबालिका रहेका छन् । जसमध्ये १ हजार एक बालक र ८ सय ९७ बालिका छन् । यहाँ १० वटा बालसमूह र एक वडास्तरीय बालसञ्जाल गठन गरिएको छ, जसमा २ सय ५० जना बालबालिका आवद्ध छन् ।

विभिन्न संरचनागत समितिमा जम्मा २ सय ६२ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको वडाले जनाएको छ । वडाले बालबालिकाको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यहाँ दुईवटा विद्यालयमा बालविकास केन्द्र सञ्चालनमा छन् । विद्यालयमा छात्र–छात्राका लागि अलग–अलग शौचालय, सेनेटरी प्याड वितरण, र खेलकुद सामग्री वितरण गरिएको छ । वडाले बालबालिकाको क्षेत्रमा यसवर्ष मात्र २७ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको वडासचिव भैरवबहादुर कुमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*