बागमती प्रदेश प्रहरीको साढे ५ तले भवनको उद्घाटन

साझाकुरा
२०८१ श्रावण ३१, बिहीबार १०:०४

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रशासनिक भवनको बुधवार उद्घाटन भएको छ ।बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले रिवन काटेर नयाँ भवनको उद्घाटन गरेका हुन् । प्रहरीको नयाँ प्रशासनिक भवन साढे ५ तले रहेको छ । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड तीन लाख रुपैयाँ र प्रहरी प्रधान कार्यालयले १७ करोड ६८ लाख गरी कुल २० करोड ५४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । नयाँ प्रशासनिक भवनमा एकसय ११ वटा कोठा छन् ।

हालसम्म प्रदेश सरकारले १३ जिल्लाका विभिन्न क्षेत्रमा ६२ वटा प्रहरी इकाइ भवनको निर्माण गरिसकेको छ भने ३ वटा प्रहरी इकाइ भवनको निर्माण कार्य सम्पन्न हुन बाँकी छ । आव २०७९÷८० मा विनियोजित रकमबाट तेस्रो चरण अन्तर्गत ४ वटा प्रहरी इकाइ भवनको निर्माण कार्य धमाधम भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । आव २०८०÷८१ मा वागमती प्रदेश प्रहरी अस्पतालका लागि पनि टेन्डर आह्वानको प्रक्रिया अगाडि बढाइएको छ ।

मुख्यमन्त्री लामाले प्रहरी प्रशासनबाटै जनताले राज्यको प्रत्यक्ष अनुभूति गर्ने बताए । प्रहरीले नागरिकसँग गर्ने व्यवहारबाटै राज्यतर्फ नागरिकको धारणा तय हुने उनको भनाई छ । ‘जनतालाई राज्यबाट दिन सकिने पहिलो सेवा नै प्रहरीसेवा भएकोले प्रहरी संगठन सेवाप्रवाहमा संवदेनशील बन्नुपर्ने हुन्छ’ उनले भने । नवनिर्मित भवनबाट प्रदेशभर शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई थप सहज हुने मुख्यमन्त्री लामाले विश्वास लिए ।

अपराध नियन्त्रण, प्रभावकारी अनुसन्धान, विपद्, उद्दार जस्ता जनमुखी प्रहरीसेवा प्रदान आधुनिक प्रहरी संगठनबाट मात्र सम्भव हुनेमा कुनै द्विविधा नरहेको लामाको भनाई थियो । मुख्यमन्त्री लामाले बागमती प्रदेश प्रहरीलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले संविधानमा व्यवस्था भए अनुरुपको अधिकारको प्रत्यायोजन अझै हुन नसकेको बताए । संघीयताको प्रभावकारी कार्यान्वयनको लागि प्रहरी समायोजन हुनुपर्ने उनको भनाई छ । मन्त्री लामिछानेले प्रदेश प्रहरीको बारेमा रहेको द्विविधालाई हटाउन राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले प्रहरी संगठनलाई प्रविधिमैत्री बनाई अपराध नियन्त्रणमा लाग्नुपर्ने बताए । प्रदेश प्रहरीप्रमुख विष्णुबहादुर केसीलेप्रहरी संगठनको भौतिक संरचना बलियो हुनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*