खेलाडीले पाएनन् पदक जितेको पुरस्कार रकम, बागमती सरकारलाई ध्यानाकर्षण

साझाकुरा
२०८१ श्रावण ३२, शुक्रबार १२:१०

हेटौंडा-९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीले प्रदेश सरकारको तर्फबाट प्रोत्साहनस्वरुप नगदसहित पुरस्कार पाउने भएका छन् ।२०७९ असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने तयारीका साथ काम भइरहेको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए । प्रतियोगिता सम्पन्न भएपश्चात् तत्कालीन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले पदकप्राप्त खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको भएपनि हालसम्म
पुरस्कार वितरण भएको थिएन ।

घोषणा भएको २ वर्षपछि नवनियुक्त मन्त्री महर्जनले पुरस्कार वितरणको लागि तयारी तीब्र पारिएको जानकारी दिए ।‘त्यतिबेला मन्त्रालयले रकम माग गर्दा त्रुटि भएको रहेछ । अर्थ मन्त्रालयले आवश्यक भन्दा बढी रकम मागियो भनेर सहमति नदिएपछि मन्त्रिपरिषद् बैठकमै लैजान समस्या भएको रहेछ । अर्थमन्त्रीज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भयो, उहाँहरु पूर्णरुपमा सकारात्मक हुनुहुन्छ । हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अगावै खेलाडीलाई पुरस्कार बाँड्छौँ ।’ मन्त्री महर्जनले भने ।

उनले आफू पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्काबुझ्दै पुरस्कार वितरणकार्यलाई तीब्रता दिइएको बताए । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडीको हितका लागि मन्त्रालयले तीब्रताका साथ काम गर्ने उनले बताए । अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार वितरणको लागि २ करोड २४ लाख रुपैयाँको लागि अर्थ मन्त्रालयसँग सहमति मागेको भएता पनि सहमति नआउँदा त्यतिबेला पुरस्कार वितरण गर्न नसकिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताए ।

मन्त्रालयले स्वर्णपदक विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो ।
बिहीवार नै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले प्रतियोगिताको पुरस्कार खेलाडीलाई प्रदान गर्न भन्दै मन्त्री मजर्हनको ध्यानाकर्षण गराएको थियो । संघका केन्द्रीय सदस्य अजित गुरुङको नेतृत्वको समूहले खेलाडीलाई निराश बनाउन नहुने पुरस्कार वितरण गर्न अनुरोध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*