मकवानपुरको दुई पालिकामा लम्पी स्किनविरुद्धको खोप शुन्य

प्रतिक्षा न्यौपाने
२०८१ भाद्र १, शनिबार ०८:३५

हेटौंडा- गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियान अन्तर्गत् बागमती प्रदेशभर झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ ।प्रदेशका १३ जिल्लामा ७६ हजार दुईसय ७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य राखेको मन्त्रालयले ७१ हजार ९ सय ७७ पशुमा खोप लगाउन सफल भएको जनाएको छ । जसअन्तर्गत् मकवानपुरको दुई स्थानीय तहमा लम्पी स्किनविरुद्धको खोप शुन्य रहेको छ । मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा गाईभैंसीमा खोप लगाउन मन्त्रालय असमर्थ बनेको छ ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरका प्रमुख ब्रजकिशोर ठाकुरले भौगोलिक विकटताका कारण राक्सिराङ र कैलाशमा खोप अभियान सञ्चालन गर्न नसकिएको बताए । उनका अनुसार राक्सिराङ र कैलाशमा ४–४ सय डोज खोप निर्धारण गरिएको थियो । कैलाश गाउँपालिकामा खोपकर्ता (भ्याक्सिनेटर) नभएकोले पनि गाईभैंसीलाई खोप लगाउन नसकिएको ठाकुरले बताए । दुवै गाउँपालिकाका स्थानीयसँग छलफलबाट पछि खोप लगाइने भएको ठाकुर बताउँछन् ।

२५ साउनदेखि ३१ गतेसम्म सञ्चालन भएको अभियानबाट मकवानपुरमा सात हजार पाँच सय डोज खोप लगाउन ६२ भक्सिनेटर नियुक्त गरिएको थियो । तर, मकवानपुरको ८ वटा स्थानीय तह (राक्सिराङ र कैलाशबाहेक) ७ हजार १२ वटा गाईभैंसीमा खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ । हेटौंडा उपमहानगरमा १ हजार ३ सय ७५, थाहा नगरपालिकामा ५ सय ८७, मनहरीमा ८ सय ५०, बागमतीमा १ हजार २ सय, भीमफेदीमा २ सय वटा गाईभैंसीमा खोप लगाइएको हो ।

यसैगरी, मकवानपुरगढी गाउँपालिकामा १ हजार ५०, बकैया गाउँपालिकामा १ हजार ५०, इन्द्रसरोबर गाउँपालिकामा ५ सय ५७ वटा गाईभैंसीमा खोप लगाइएको मन्त्रालयका आभाष कोइरालाले जानकारी दिए । राक्सिराङमा भने अन्तिममा आएर २० वटा पशुमा मात्रै खोप लगाएको तथ्यांक मन्त्रालयसँग छ । ३१ साउनको विवरणमा खोप शुन्य रहेको राक्सिराङको मन्त्रालयले अन्तिम रिपोर्ट बनाउँदा २० वटा पशुमा खोप लगाइएको तथ्यांक समावेश गरेको थियो ।

बागमती प्रदेशको १३ जिल्लामा गाई÷गोरु÷साँढे ३६ हजार ९ सय १४, बाच्छा÷बाच्छी १० हजार १ सय १३, राँगो÷भैंसी १६ हजार ७ सय ३८ र पाडा÷पाडी ८ हजार २ सय १२ वटा गरी ७१ हजार ९ सय ७७ वटा पशुमा खोप लगाइएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ५ हजार १ सय ३६, ललितपुरमा २ हजार १ सय ४५, भक्तपुरमा ६ सय ९४, धादिङमा ७ हजार ४ सय ९२, काभ्रेमा ८ हजार ५ सय १३, नुवाकोटमा ८ हजार ४८, रसुवामा ४ हजार ४ सय १० वटा गाईभैंसीमा खोप लगाइएको छ ।

यस्तै, सिन्धुलीमा ५ हजार ४ सय ३७, रामेछापमा ४ हजार २ सय २२, दोलखामा ७ हजार २ सय ८७, सिन्धुपाल्चोकमा १ हजार ३ सय २, चितवनमा १० हजार २ सय ७९ र मकवानपुरमा ७ हजार १२ वटा गाईंभैंसीमा खोप लगाइएको मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशुसेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए । भक्तपुरमा पाडा÷ पाडीमा खोप शुन्य रहेता पनि अन्य जिल्लामा गाई÷गोरु÷साँढे, बाच्छा÷ बाच्छी, राँगो÷भैंसी र पाडा÷ पाडीलाई खोप लगाइएको हो ।

प्रदेशका अधिकांश जिल्लामा लक्ष्य अनुसारको खोप लगाउन नसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मकवानपुरमा ७ हजार पाँच सय, ललितपुरका लागि ८ हजार ३ सय २५, नुवाकोटका लागि ११ हजार, धादिङका लागि ६ हजार ९ सय, चितवनका लागि ८ हजार, दोलखाका लागि ५ हजार, काभ्रेका लागि ८ हजार, सिन्धुलीका लागि ८ हजार दुई सय ५० डोज खोप लगाउने लक्ष्य लिएको थियो ।

गत आर्थिक वर्ष २०८०÷८१ मा लम्पी स्किन रोगको संक्रमबाट बागमतीमा ११ हजारभन्दा बढी गाईभैंसीको मृत्यु भएपछि यसवर्ष प्रदेश सरकारले रोग लाग्न सुरु हुनुअघि नै लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरेको उल्लेख गरेको छ । प्रदेशमा रहेका १० लाख ११ हजार एकसय ३६ गाई र आठ लाख ३२ हजार एकसय ९३ भैंसीलाई लम्पी रोगको संक्रमण हुन नदिन वार्षिक कार्यक्रमअन्तर्गत् नै खोप अभियान चलाइएको मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले बताए ।

उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर र रसुवामा भन्दा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीमा बढी गाईभैंसीपालन हुने गरेको छ । बागमतीको चितवन, काभ्रे र मकवानपुर सबैभन्दा धेरै दूध उत्पादन गर्ने जिल्ला हुन् । किसानहरु गाईभैंसीपालनबाट आत्मनिर्भर छन् । चितवन, काभ्रे र मकवानपुरमा व्यावसायिकरुपमा पनि गाईभैंसी फार्म सञ्चालन गर्ने किसान बढ्दो क्रममा रहेका छन् ।

विगतका वर्षमा लम्पी स्किनका कारण धेरै गाईभैंसीको मृत्यु भएकाले किसानले ठूलो क्षति व्यहोर्नु परेको थियो । लम्पी स्किन संक्रमणपछि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने भएकाले मन्त्रालय यसको नियन्त्रणमा गम्भीर रुपले अघि बढेको जनाउँछ । बागमती प्रदेशमा वार्षिक चार लाख ५५ हजार एक सय ४२ मेट्रिकटन दूध उत्पादन भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष ०८०÷८१ मा लम्पी स्किन रोगबाट प्रदेशका १३ जिल्लामा ११ हजार दुई सय १८ वटा गाईभैंसीको मृत्यु भएको तथ्याड्ढ छ । ३७ हजार ८९ वटा गाईभैंसी संक्रमित भएको र दुईलाख ५६ हजार सात सय ५९ पशु प्रभावित भएको मन्त्रालयले जनाएको छ । बागमतीमा हालसम्म दुई लाख ४५ हजार दुई सय २२ र गत वर्ष ५७ हजार चार सय ३३ वटा गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको थियो ।

संक्रमणका कारण काभ्रेमा दुई हजार चार सय १२, सिन्धुपाल्चोकमा एक हजार तीन सय २८, दोलखामा एक हजार १०, सिन्धुलीमा नौ सय ४९, मकवानपुरमा पाँच सय एक, रामेछापमा नौ सय ७५, चितवनमा चार सय दुई, धादिङमा नौ सय ५९, नुवाकोटमा एक हजार ३४, रसुवामा दुई सय ३६, काठमाडौंमा छ सय पाँच, ललितपुरमा दुई सय ४९ र भक्तपुरमा लम्पीबाट पाँच सय ८८ वटा गाईभैंसी मरेको मन्त्रालयको तथ्याड्ढ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*