उद्योगमन्त्री भण्डारीद्वारा हेटौंडा सिमेन्ट र मयुधाप औद्योगिक क्षेत्र अवलोकन

साझाकुरा
२०८१ भाद्र २, आईतवार १०:४८

हेटौंडा-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको पूर्णस्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा संचालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।आज शनिबार हेटौंडास्थित हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा संघीय सरकारलाईअवगत भएको बताए । उद्योगको बर्तमान अवस्थाबारे जानकारी लिंदै मन्त्री भण्डारीले संघीय सरकारले हेटौंडा सिमेन्ट उद्योग चलाउन चरणबद्धरुपमा गृहकार्य गरिरहेको जानकारी दिए । उद्योग ब्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिईकाई लागत न्युनीकरण गरी प्रतिष्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीको भनाई थियो ।

हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा मन्त्री भण्डारीले सरकारी स्वामित्वको उद्योग बन्द हुनको कारण सरकार, सञ्चालक समिति, कर्मचारी र संलग्न सबै सरोकारवाला जिम्मेवार रहेको बताए । उद्योग संकटग्रस्त बन्नुको जिम्मेवारी सबैले लिनुपर्ने उनको भनाई छ । मन्त्री भण्डारीका अनुसार राजनीतिकरणले सरकारी स्वामित्वका उद्योग बन्द र जीर्ण हुने अवस्थामा पुगेको हो । हेटौंडा सिमेन्ट उद्योग थलिनुमा पनि सबैपक्ष र राजनीतिकरण नै मुख्य कारण रहेको उनले बताए । सरकारी उद्योगहरु बन्द तथा धराशायी बन्नुमा सबैपक्षको कमजोरी रहेको मन्त्री भण्डारीले औंल्याए ।

सरकारले उद्योग सञ्चालन गर्ननहुने मन्त्री भण्डारीले बताए । उद्योग सञ्चालनको जिम्मा उद्योगी व्यवसायीलाई नै दिनुपर्ने र सरकारले उपयुक्त लगानी तथा उद्योग सञ्चालनको वातावरण निर्माण गरिदिनुपर्ने उनले बताए । सरकारले ९ वटा जीर्ण र संकटग्रस्त उद्योग सञ्चालनको मोडालिटी तयारी अघि बढाएको मन्त्री भण्डारीले बताए । अघिल्लो सरकारले हेटौंडा र उदयपुर सिमेन्ट उद्योग सहित जीर्ण ९ उद्योगलाई निजीकरण इकाईमा पठाएको मन्त्री भण्डारीले बताए । इकाईमा विचाराधीन विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँगको छलफल पछि आवश्यक निर्णय गरिने उनको भनाई छ ।

‘घाटामा सिमेन्ट उद्योग सञ्चालन गरेर हुँदैन । उद्योग फाइदामा लैजाने गरी लगानी गर्नुपर्छ । स्पष्ट मोडल तयार गरेर संकटमा रहेका उद्योग सञ्चालनको बारेमा छलफल भइरहेको छ । उद्योग बन्द गर्ने भन्दा पनि यसलाई टिकाउने विषयमा सरकार प्रयत्नरत रहेको छ । कानुन संशोधन गरेर उद्योगमैत्री वातावरण तयार गर्ने लयमा सरकारले काम गरिरहेको छ’ मन्त्री भण्डारीले भने । ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगको पुराना प्रबिधिका मेशिनरी हटाएर नयाँ प्रबिधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताए ।

अध्यक्ष भण्डारीले २०४३ सालदेखि निरन्तर चलिरहेका केही मेशिनरी उपकरण जीर्ण भएकोले त्यस्ता उपकरण बिस्थापन गरी नयाँ प्रबिधिको मेशिन जडान नगरेसम्म बजारमूल्यमा प्रतिस्पर्धा गर्न नककिने बताए । उद्योग पूर्ण क्षमतामा संचालन हुने अवस्था नरहेको उनले उद्योगमन्त्री भण्डारी समक्ष जानकारी गराए ।हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्तामाझ कायमै रहेकोले उद्योगलाई कुनैपनि हालतमा निरन्तर संचालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको अध्यक्ष भण्डारीले बताए ।

उद्योगका महाप्रवन्धक बसन्तराज पाण्डेले हेटौंडा सिमेन्ट उद्योगमा चरम आर्थिक संकटका कारण पटकपटक उद्योग बन्द गर्नु परिरहेको बताउँदै उत्पादनलाई थप बृद्धि गर्न पुराना प्रबिधिका मेशिनबाट काम लिन नसकिने अवस्था रहेकोले नयाँ प्रबिधिका मेशिन जडान गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्री भण्डारीसमक्ष माग गरे ।मन्त्री भण्डारीले शनिबार नै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि बर्तमान अवस्था निरीक्षण गरेका छन् । कपडा उद्योग संचालनको मोडालिटिबारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिंदै मन्त्री भण्डारीले कपडा उद्योग संचालनमा आउँदा रोजगार बढ्ने बताए ।

उद्योगमन्त्री भण्डारीले हेटौंडा–१४ मा निर्माणाधीन मयुरधाप औधोगिक क्षेत्र अब चाँडै सञ्चालनमा आउने बताएका छन् । शनिबार बिहान मयुरधाप औधोगिक क्षेत्र अनुगमनको क्रममा प्रतिक्रिया दिँदै मन्त्री भण्डारीले केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको समयमा प्रस्तावित गरिएको नयाँ औधोगिक क्षेत्रकोरुपमा रहेको मयुरधापलाई औद्योगिक क्षेत्रलाई अब सञ्चालनको लागि कानुन निर्माण भैसकेकोले सरकारले डिपिआरको आधारमा सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।

करिब ६ अर्ब लगानीमा निर्माण हुने औधोगिक क्षेत्रको कामलाई पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको कारण समस्यामा परेको थियो । निर्माणको चरण पूरा हुन नसकेको तर, अब यस ठाउँमा नै स्थापना हुने गरी कानुन संशोधन भएको भन्दै अब छिट्टै संचालनमा ल्याउने सरकारको तयारी रहेको मन्त्री भण्डारीले बताए । मयुरधाप औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न सूचना जारी भइसकेको थियो । मयुरधापलाई प्रदेशको उद्योगको हबको रुपमा सञ्चालन गर्न लगानीको वातावरण सृजना गरिरहेको बताउदै मन्त्री भण्डारीले सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र विस्तारमा सरकार लागिरहेको बताए ।

आफू काठमाडौं पुगेर वन मन्त्रालयसँगको समन्वयमा इआइएको प्रक्रियालाई टुंगोमा पु¥याएर मयुरधापलाई चाँडै सञ्चालनमा ल्याउन आफू प्रतिवद्द भएको उनले बताए । मन्त्री भण्डारीले निजीक्षेत्र हाबी हुँदा सरकारी उद्योगहरु संकुुचनमा पुगेको बताएका छन् । मन्त्री भण्डारीले निजीक्षेत्रले लगानी, प्रविधि र उत्पादन तथा बजारमा पहुँच बिस्तार गर्दा सरकारी स्वामित्वका उद्योगका सबै पक्षमा संकुुचन आएको बताएका हुन् ।

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न राष्ट्रिय निकुञ्ज बिभाग र वन मन्त्रालयले अवरोध गरिरहेको छ । मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने जानकारी दिए । हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापक संगीता कुँवरले मयुरधाप औद्योगिक क्षेत्रको हालसम्मको प्रगतिका बारेमा जानकारी गराएकी थिइन् ।

यसैगरी शनिबार नै मन्त्री भण्डारीले मकवानपुर उद्योग वाणिज्य संघमा उद्योग ब्यवसायीसँग बर्तमान समसामयिक समस्याका बारेमा छलफल गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरपालिकाका बिभिन्न शीर्षकका करको दर एकसय ५३ प्रतिशतसम्म बढाएर उद्योगी ब्यवसायीलाई दुःख दिएको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मन्त्री भण्डारीसमक्ष राखे । उद्योगी ब्यवसायीले चरम आर्थिक मन्दीको समयमा करबृद्धिले ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*