तीन जना पढाउँदै विश्वविद्यालय

साझाकुरा
२०८१ भाद्र ७, शुक्रबार १०:४०

कक्षा १२ पास गरेपछि औषत भन्दा माथिका विद्यार्थी युरोप, अमेरिका, अष्ट्रेलिया, जापान जान शिक्षा मन्त्रालयमा एनओसीका लागि लाइन लाग्छन् । औषत भन्दा कमजोर विद्यार्थी हातमा पासपोर्ट बोकेर श्रमस्वीकतिका लागि लाइन लागिरहेका छन् । नेपालमा कतिपय गाउँमा युवा पुस्ताको खडेरी परिसकेको छ । स्वदेशमा भविश्य नदेखेर हातमा पासपोर्ट बोकेर त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा लाइन लाग्ने क्रम बढ्दो छ । यस्तो अवस्थालाई सरकारले गंभीर रुपमा लिएकै छैन । सत्ता प्राप्ति गर्ने र सत्ता ढलाउने दाउपेचमा समय बिताएका नेताहरुलाई यो विषयमा चासो पनि छैन ।

मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर (मास्टर्स डिग्री) र विद्यावारिधि (पिएचडी) को पढाइ सुरु गरेको छ । पहिलो वर्ष भएर पनि होला ३ जना मात्र विद्यार्थी अध्ययन गरिरहेका छन् । गत मंसिरदेखि अर्गानिक एग्रिकल्चर, फरेष्ट बायोमेटिरियल,आर्टिफिसीयल ईन्टेलिजेन्स र डाटा साइन्सको माष्टर्स र पिएचडीको पढाइ भइरहेको विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले जानकारी दिएका छन् ।

सरकारले स्वीकृति दिएको चारवर्ष नपुग्दै विश्वविद्यालयले पढाई संचालनमा ल्याएको हो । अहिले विश्वविद्यालयमा ३ जना विद्यार्थीले पिएचडी र १३ जना विद्यार्थीले माष्टर्स डिग्री पढ्दैछन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी चित्लाङमै कोठा लिएर बसेका छन् । विश्वविद्यालयका अधिकांश प्राध्यापक काठमाडौंबाट आउजाउ गर्छन् विश्वविद्यालयमा पठनपाठन र अनुसन्धान गर्न गराउन विदेशबाट विशेषज्ञ प्राध्यापक आउने गरेका छन् ।

विश्वविद्यालयले पहिलो वर्ष नै ३२ जनालाई पढाउने लक्ष्य लिएको थियो । तर, विद्यार्थी छनोट गर्ने क्रममा १६ जनामात्र उत्कृष्ट भएकाले उनीहरुलाई पढाउन थालिएको जानकारी दिइएको छ । विश्वविद्यालयले आगामी ५ वर्षको अवधिमा ८ सय विद्यार्थीलाई पढाउने लक्ष्य लिएको छ । थाहा नगरपालिका–९ चित्लाङमा विश्वविद्यालयले गुणस्तरयुक्त पठनपाठन र अनुसन्धान गर्न भवनलगायत प्रयोगशाला, सभाहल, अडिटोरियमलगायत निर्माण गरेको छ । करिब एक अर्ब रुपैयाँ लागतमा स्थापना गरिएको यो विश्वविद्यालयको चारवटा भवनमध्ये अब एउटा तयार हुन बाँकी रहेको छ ।

राजधानी प्रवेशनाका थानकोटबाट पश्चिमतर्फ १२ किलोमिटर दुरीमा चित्लाङ रहेको छ । विश्वविद्यालयलाई आवश्यक पर्ने विद्युत् सौर्यउर्जामार्फत उत्पादन गरिएको छ । एक सय वटा सोलार प्यानलबाट ५ सय किलोवाट विद्युत् उत्पादन हुन्छ । अहिले विद्युत् आवश्यक नपरेकाले नेपाल विद्युत् प्राधिकरणको ११ केभीए प्रसारण सिस्टममा जडान गरिएको छ । विश्वविद्यालयमा उत्पादित विद्युत् पालुङ वितरण केन्द्रको प्रणालीमा जोडिएको हो । उत्पादित बिजुली नेट मिटरिङको माध्यममार्फत पालुङमा जडान गरिएको पालुङ वितरण केन्द्रले जनाएको छ ।

विश्वविद्यालयले प्राधिकरणलाई प्रतियुनिट ५ रुपैयाँ ८४ पैसामा बिक्री गरेको बताइएको छ । विश्वविद्यालयले प्रतिवर्ष करिब ३० लाख रुपैयाँ बराबरको विजुली प्राधिकरणलाई बिक्री गर्नसक्छ । विजुली बिक्रीबाट पनि सहयोग पुगेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय पूर्णरुपमा संचालनमा आउँदा ५ सय किलोवाट विद्युत् खपत हुने अनुमान गरिएको छ । विश्वविद्यालयलाई निरन्तर विद्युत् आवश्यक पर्ने भएकाले आफैंले उत्पादन गरेको हो ।

करिब १३ करोड रुपैयाँ लागतमा सौर्यउर्जामार्फत् विद्युत् उत्पादन गरिएको प्लान्टलाई ‘पम्प स्टोरेज पावर प्लान्ट’ भनिन्छ । विद्युत्को आपूर्ति रोकिन गएमा तत्कालै उत्पादन गर्न पम्प स्टोरेज पावर प्लान्ट निर्माण गरिएको बताइएको छ । यो प्रविधि नेपालकै पहिलो हो । सरकारले चित्लाङको ताकाटारमा स्वच्छन्दभैरव माविको नाममा रहेको १ सय ८० रोपनी जग्गाको भोगाधिकार विश्वविद्यालयलाई दिएको थियो । अब थप ८ सय रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रक्रिया सुरु गरिएको बताइएको छ । थानकोटदेखि चित्लाङसम्मको फराकिलो र कालोपत्र गर्ने काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*