एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाई

साझाकुरा
२०८१ भाद्र ९, आईतवार १०:४६

हेटौंडा- मकवानपुरको ठूलो राजनीतिक दल नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन भएका छन् ।मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । सल्लाहकार कमिटी अध्यक्षमा उनको दोस्रो कार्यकाल हो । हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुन् । पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा सहभागी हुमागाईलाई जिल्लामा सम्मानित नेताका रुपमा लिने गरिन्छ ।

मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेको जग बसाल्ने हुमागाई हुन् । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाई हुन् । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो । यस्तै, एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन भएका छन् । अध्यक्ष हुमागाई र सचिव खतिवडाले शनिवार एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ लिए । यसैगरी, ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन भएको पार्टी अध्यक्ष पोख्रेलले जानकारी दिए ।

अध्यक्ष पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका जिल्ला ईञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सपथग्रहण कार्यक्रम भएको हो । मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने, अग्रज नेताहरुको सल्लाह र युवाको साथमा पार्टीलाई गतिशील ढंगले अगाडि बढाउने पार्टी जिल्ला अध्यक्ष पोख्रेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*