‘तीजमा महिला अधिकारका कुरा पनि गरौं’–डीना

साझाकुरा
२०८१ भाद्र १६, आईतवार १२:०५

हेटौंडा- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संघीयता पश्चात महिला अधिकारका विषयमा केही उपलब्धी भएको दावी गरेकी छिन् ।कांग्रेस निकटको नेपाल महिला संघ मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको तीज विशेष कार्यक्रममा उनले संविधानमै महिला अधिकारको विषय प्रष्ट लेखिएपनि अझै पूर्ण रुपमा कार्यान्वयन भने हुन नसकेको बताइन् । ‘संघीयता पश्चात राज्यको विभिन्न स्थानमा महिलाको प्रतिनिधित्व बढेको छ, तर त्यो पर्याप्त छैन’, उनले भनिन्, ‘तीजमा रमाइलो मात्र नभई महिला अधिकारका विषय पनि उठान गर्नु आवश्यक छ ।’ महिला अधिकारका विषयमा संविधानमा उल्लेख भएका विषय जानकारी गराउनु आवश्यक रहेको उनको सुझाव थियो ।

पछिल्लो समय तीज भड्किलो बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरिन् । ‘तीजलाई सन्देशमुलक र सचेतनामुलक बनाउनु पर्छ । रमाइलोको लागि मात्र सोच्नहुन्न’, डीनाले भनिन्, ‘धर्म संस्कृतिको जगेर्ना गर्दै यस पर्वलाई जोगाउनु आवश्यक छ ।’नेपाल महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कांगे्रेस मकवानपुर उपसभापति आनन्द कठायत, कांग्रेस नेताहरु आनन्दराम पराजुली, गोरीमाया तामाङ, सर्मिला श्रेष्ठ लगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।

महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सँगै दर खाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महिला संघ अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । महिला संघले प्रत्येक वर्ष तीज विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*