कांग्रेस मनहरीद्वारा सांस्कृति कार्यक्रमसँगै अग्रज महिला सम्मान

साझाकुरा
२०८१ भाद्र १९, बुधबार ०९:५३

हेटौंडा-हिन्दु महिलाको विशेष पर्व तीजको अवसरमा नेपाली कांग्रेस मनहरी गाउँपालिका समितिले अग्रज महिला सम्मानका साथ विशेष सांस्कृतिक कार्यक्रम गरेको छ ।पार्टीले मंगलबार मनहरीमा संस्कृतिको प्रवद्र्धनका लागि मौलिक तीजगीत प्रस्तुति, खैंजडीभजन प्रदर्शनका साथै मनहरीका अग्रज महिलालाई सम्मान गरेको हो । कार्यक्रममा मनहरीको खैंजडीभजन टोलीले स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले भजन प्रस्तुत गरेको थियो भने मौलिक तीजगीत गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।

नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज नेतृ तथा नेपाल महिला संघ तत्कालीन मनहरी गाविस सभापति कृष्णमाया कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशसभापति इन्द्रबहादुर बानियाँ विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै बानियाँले समाजको सर्वाङ्गीण विकासका लागि हरेक क्रियाकलापमा महिलाको सहभागिता अपरिहार्य हुने धारणा व्यक्त गरे । जनताको समानता र समावेशी शासनको लागि कांग्रेसले राणा शासन, पञ्चायत र राजा फालेको स्मरण गर्दै बानियाँले नयाँ संविधानमार्फत महिलाको अधिकार थप सशक्त गरेको बताए ।

कार्यक्रमकैबीच पार्टीले नेपाल महिला संघ मनहरी गाविसकी संस्थापक सभापति कालाखेतीसहित कृष्णकुमारी मैनाली, सान्नानी मैनाली, कान्छीमाया थिङ, गोमा गिरी, माइलीमाया लामा, कान्छीमाया घलान, बलकुमारी उप्रेती, राधादेवी पाठक, नारायणी थापा, शेषकुमारी अधिकारी, विष्णुमाया ब्लोन, मैयाँ सुनार, माइली दर्जी, फूलमति न्यौपाने, गोपाल मुक्तान, ठूलीमाया मुक्तान, सूर्यकुमारी लामालगायत २५ जना अग्रज महिलालाई सम्मान गरेको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पार्टी प्रदेशसदस्य एवम् पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङ, बागमती प्रदेशसदस्य जानकी लामा, बागमती प्रदेशसदस्य जानुकी लामा, सहसचिव ईन्दिरा न्यौपाने, क्षेत्र नम्बर २ क का सभापति रञ्जन कालाखेती, जिल्ला सदस्य अञ्जना उपाध्याय, कांग्रेस बागमती प्रदेश महिला विभाग सदस्य कमला मैनाली, मनहरी–७ की वडासदस्य राधादेवी पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकैबीच राप्रपा मनहरी–५ का उपाध्यक्ष भवनाथ पण्डित (सीताराम) ले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*