डेढ महिनामै ४४ लाख राजस्व संकलन

साझाकुरा
२०८१ भाद्र २०, बिहीबार १०:१७

हेटौंडा-जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो डेढ महिनामा ४४ लाख ६९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन गरेको छ ।यो रकम गतवर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढी हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार साउन महिनामा ४ हजार १०७ र भदौ १५ गतेसम्म १ हजार ७७९ सवारी साधनलाई कारबाही गरी यो राजस्व संकलन गरिएको हो । यस वर्ष ट्राफिक नियम उल्लंघन गर्नेमाथि कडा कारबाही गरिएको छ । फलस्वरुप सवारी दुर्घटनामा पनि कमी आएको छ ।

चालु आवको डेढ महिनामा ३८ वटा सवारी दुर्घटना भएका छन्, जसमा एक बालकको मृत्यु भएको छ । प्रहरीनिरीक्षक अधिकारीले भने, ‘हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ । गत आवमा मात्रै करिब २ लाख जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ ।’

उनका अनुसार बढ्दो सवारी चाप, साँघुरो सडक, चालकको लापरबाही र छाडा पशुचौपायाका कारण दुर्घटना हुने गरेकोले यी विषयमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । यस कदमले राजस्व संकलनमा वृद्धि भएको र दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको अधिकारीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*