कृषि थोकबजार तयार, दुईतले भवनमा ६३ वटा सटर

एक महिनाभित्र सञ्चालनमा ल्याउन मन्त्री काफ्लेको निर्देशन
साझाकुरा
२०८१ भाद्र २५, मंगलवार ०८:३८

हेटौंडा-बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण भएको प्रादेशिक कृषि थोकबजार सञ्चालनको तयारी अवस्थामा पुगेको छ ।९६ प्रतिशत भौतिक प्रगति भएको बजारको कार्यविधि बनाएर सञ्चालनको तयारीमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय लागेको हो । सोमबार बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजारको स्थलगत निरीक्षण गर्दै एक महिनाभित्र बजार सञ्चालन गरिसक्न निर्देशन दिए । ‘समयमै सञ्चालन हुनुपर्छ । एक महिनाभित्र चलेको खबर पाउनुपर्छ,’ उनले भने ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा प्रादेशिक कृषि थोकबजार निर्माण भएको छ । ठेक्का लिएको अनक÷माउण्टेन जेभी काठमाडौंले भवन निर्माणको काम सकेर हस्तान्तरणको अन्तिम तयारीमा छ । हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले थोकबजार सञ्चालनका लागि उपमहानगर तयार रहेको बताए । कार्यविधि बनेपछि उपमहानगरपालिकाले सञ्चालन गर्ने उनको भनाई छ । थोकबजारले किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या हल हुने न्यौपानेले विश्वास लिएका छन् ।

अनक÷माउण्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँमा ठेक्का पायो । थोकबजार निर्माणको गत असारसम्म वित्तीय प्रगति ८६ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९ सय ९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोड भन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ ।९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा थियो । ७ महिना म्याथ थप भएर ८ मंसिरसम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्सिनाले जानकारी दिए । थोकबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना बनेका छन् ।

बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेलस मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङके पनि सुविधा छ । एउटै भवनमा दुईवटासम्म लिफ्ट रहेका छन् । माथिल्लो तलामा पनि सटर छ । भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य यहाँबाट गर्न सकिने भएको छ । हाल १ नम्बर वडाको राप्तीतटमा थोकबजार छ । यसैलाई थोकबजारमा ल्याइने जनाइएको छ ।चालु आर्थिक वर्ष २०८१÷८२ मा बागमती सरकारले थोकबजारका लागि ४ करोड विनियोजन गरेको छ । प्रदेश सरकारले ७०÷३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीनवर्ष लगाएर थोकबजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो ।

सम्झौताको एक वर्षपछि थोकबजार निर्माण थालिएको थियो । १८ असार २०७८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरका मेयर हरिबहादुर महतले शिलान्यास गरेका थिए ।

कहिले बन्छ सञ्चालन कार्यविधि ?

बजार तयार भएर सञ्चालनको मुखैमा आइपुग्दा कार्यविधि भने बनेको छैन । बल्ल कार्यविधि बनाएर सञ्चालन मोडालिटी टुंग्याउने गृहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय लागेको छ ।थोकबजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा जुटेको मन्त्रालयका सचिव विनोद भट्टराईले बताए । कार्यविधि बनाएर छिट्टै सञ्चालन गरिने उनको भनाई छ । भवन हस्तान्तरण हुनुअघि कार्यविधि बनाइसक्ने योजना हेरिरहेको मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*