क्याम्पामा भेट्रान्स फुटबल सुरु, चितवनसँग नागस्वती हा¥यो

साझाकुरा
२०८१ भाद्र २५, मंगलवार ०८:५९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५, स्थित पिप्लेक्याम्पा रंगशालामा सोमबारबाट तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ ।उद्घाटन खेलमा चितवन भेट्रान्सले हेटौंडाका टोली नागस्वती भेट्रान्सलाई पराजित गरेर विजयी खाता खोलेको छ । नागस्वतीलाई चितवनले पेनाल्टी सुटआउनमा ४–२ गोलअन्तरले हराएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । प्रतियोगितामा चितवन भेट्रान्सको गोलकिपर राजु शाही म्यान अफ द म्याच घोषित भए ।

रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लब सहआयोजक र रोट¥याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा प्रतियोगिता सुरु भएको हो । रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । लामाले निर्णायकलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरिन् । खेलकुदको विकासमा सबै पक्षको सहभागिता आवश्यक रहेको उनले बताइन् ।

१५ टिमको सहभागिता रहेको प्रतियोगितामा ४० वर्षदेखि माथि उमेर समूहका खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा चितवन र नागस्वतीसहित हेटौंडा भेट्रान्स क्लव, आयोजकको रोटरी पिप्ले भेट्रान्स, सिमरा भेट्रान्स, नव जनजागृति भेट्रान्स सिमरा, वीरगञ्ज एकेडेमी भेट्रान्स, युनिटी भेट्रान्स वीरगञ्ज, निजगढ भेट्रान्स, हरिवन भेट्रान्स, पूर्वेली भेट्रान्स क्लव झापा, एसएन केसी काठमाडौं, फ्रिडम फाइटर काठमाडौं, अभिषेक चर्च नवलपरासी र पोखरा भेट्रान्सको सहभागिता रहेको छ ।

यसअघि २०७२ र ०७३ सालमा खेल आयोजना गरेको रोटरीले लामो समयपछि फेरि प्रतियोगितालाई निरन्तरता दिन लागेको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसअघिको दुई संस्करणमा विजेतालाई १ लाख र उपविजेतालाई ७५ हजार पुरस्कार थियो ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अग्रवालले बताए । हेटौंडामा जलन प्राथमिक उपचार (आगोले पोलेकाहरुको तत्काल उपचार गर्ने) केन्द्र निर्माणका लागि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । रोटरी मकवानपुरका पूर्वअध्यक्ष कबिन सांगामीले अबको दुई महिनाभित्र अस्पतालसँगको समन्यमा उपचार केन्द्र सञ्चालन गरिने उद्देश्य राखिएको बताए ।

हेटौंडामा २०७२ र २०७३ मा क्रमशः प्रथम र दोस्रो राष्ट्रिय भेट्रान्स कप ‘८ ए’ साइड फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । दुवै संस्करण चितवन भेट्रान्स क्लबले जितेको थियो । विगतमा दुई संस्करण ‘८ ए’ साइड प्रतियोगिता भएकोमा यसवर्ष ‘११ ए’ साइड खेलाइने अध्यक्ष अग्रवालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*